काठमाडौं । झण्डै एक वर्षअघि संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणकै क्रममा मन्त्री पद गुमाएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी फेरि उस्तै परिस्थितिको सामना गर्न सक्ने देखिएको छ ।
गत वर्ष सत्ता समीकरण परिवर्तन हुँदा विदेशमै रहेका कारण पद गुमाएका भण्डारी हाल पुनः युएई भ्रमणमा छन् । संयोगले, यसपटक पनि राजनीतिक अस्थिरता बढ्दै गएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले सरकारबाट बाहिरिने संकेत गरेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्धका गतिविधि स्वीकार्य नहुने बताउँदै भण्डारीलाई हटाउन सक्ने संकेत गरेका छन् । यसले गर्दा भण्डारीको मन्त्री पद पुनः धरापमा परेको छ ।
लोसपा अध्यक्ष ठाकुरले भूमिसम्बन्धी अध्यादेश अस्वीकार गर्ने निर्णय गर्दै भण्डारीलाई राजीनामाका लागि तयार रहन निर्देशन दिएका छन् । एक-दुई दिनभित्र राजनीतिक परिदृश्य स्पष्ट हुने बताउँदै ठाकुरले भण्डारीलाई आवश्यक तयारी गर्न आग्रह गरेका छन् । यसैबीच, प्रधानमन्त्री ओलीले लोसपाले आफ्नो निर्णय पुनर्विचार नगरे भण्डारीलाई पदमुक्त गर्ने अवस्था आउन सक्ने बताएका छन् ।
यता, मन्त्री भण्डारी युएईमा औपचारिक भ्रमणमा छन्। उनले बिहीबार अन्य भिसामा आएका श्रमिकहरूलाई वैधानिक रूपमा श्रम स्वीकृति दिने व्यवस्थाको उद्घाटन गरेका छन् । नेपाली राजदूतावासको आयोजनामा भएको सो कार्यक्रममा उनले एक महिला श्रमिकको बायोमेट्रिक दर्ता गरेर सेवा शुभारम्भ गरे ।
नेपाल एशोसिएशन एनआरएनए एनसीसी युएईका अनुसार कार्यक्रममा युएईका लागि नेपाली राजदूत तेज बहादुर क्षेत्री, उपनियोग प्रमुख रन्जिता दाहाल, नेपाल सरकार श्रम मन्त्रालयका सहसचिव, एनआरएनए युएईका अध्यक्ष विकास शाही, नेपाली समाजका अध्यक्ष राम मोक्तान लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरू उपस्थित थिए ।
सोही अवसरमा युएईस्थित नेपाली संघसंस्थाहरू र नेपाली श्रमिकहरूको तर्फबाट मन्त्री भण्डारीलाई श्रमिक समस्यासम्बन्धी ज्ञापनपत्र समेत बुझाइएको एनसीसी युएईले जनाएको छ ।



