भायानेट बन्यो महिला च्याम्पियनसिपको शीर्ष प्रायोजक

काठमाडौं । आगामी फागुन ५ देखि १४ गतेसम्म दशरथ रंगशालामा आयोजना हुने अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको शीर्ष प्रायोजक इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट बनेको छ।

यस सम्बन्धमा मंगलबार आयोजित कार्यक्रममा भायानेट र प्रतियोगिताको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रा. लि. बीच औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो।

भायानेटले नेपाली फुटबलको विकासमा योगदान पुर्याउने उद्देश्यसहित प्रतियोगितालाई समर्थन गरेको जनाएको छ। प्रतियोगितामा नेपालसँगै किर्गिस्तान, लेबनान, र म्यानमारका राष्ट्रिय महिला टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्।

भायानेटका कमर्शियल एण्ड मार्केटिङ विभागका उपाध्यक्ष शहिन श्रेष्ठका अनुसार खेलकुद, मनोरञ्जन, र इन्टरनेट आपसमा गहिरो रूपमा जोडिएका छन्, जसले व्यवसायिक क्षेत्रमा पनि प्रभाव पार्छ। ठूला खेलकुद प्रतियोगिताका बेला इन्टरनेट र टिभीको प्रयोग उल्लेखनीय रूपमा बढ्ने भन्दै उनले हाल नेपाली क्रिकेट र फुटबलले हासिल गरेको प्रगति उत्साहजनक रहेको बताए। श्रेष्ठले नेपाली फुटबललाई अझ उच्च स्तरमा पुर्याउन भायानेटले निरन्तर साथ दिने प्रतिबद्धता जनाए।

उनका अनुसार फुटबल प्रवर्द्धन गर्नु भायानेटको सामाजिक उत्तरदायित्वको एक हिस्सा हो। विशेषगरी महिला फुटबलको विकासका लागि योगदान गर्न पाउँदा गर्व लागेको बताउँदै उनले खेलकुद राष्ट्रको उन्नतिको महत्वपूर्ण आधार भएकाले यस अभियानमा भायानेट सहभागी भएको उल्लेख गरे।

तपाईंको प्रतिकृया

लेखकबाट थप