नेपाल लाइफ इन्स्योरेन्सको २५औँ वार्षिक साधारण सभा सम्पन्न, २१.०५% लाभांश वितरणको घोषणा

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औँ वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा आज बीरगंजस्थित होटल भिष्वामा सम्पन्न भएको छ ।

सभामा अध्यक्ष संघईले प्रस्तुत गरेको आ.व. २०८०/८१ को वार्षिक कार्य प्रगति प्रतिवेदन छलफल पश्चात पारित गरिएको छ । सो अवसरमा लेखापरीक्षकको प्रतिवेदनसहित आ.व. २०८०/८१ को वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू अनुमोदन गरिएका छन्। साथै, आ.व. २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरिएको छ ।

सभाले हाल कायम चुक्ता पूँजी रु. ८ अर्ब २० करोड ७९ लाख ६६ हजार ५५४ को २१.०५% का दरले लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। उक्त लाभांशमध्ये १०% बोनस शेयर तथा ११.०५% नगद लाभांश (बोनस शेयर तथा नगद लाभांश कर सहित) रहनेछ।

अध्यक्ष संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सालाई थप सशक्त बनाउन संरचनात्मक सुधार, संस्थागत सुशासनको पालना, नवीन प्रविधिको प्रयोग, ग्राहक केन्द्रित योजना, विकेन्द्रीकरण, तालिम तथा अनुसन्धान लगायतका रणनीतिहरू अवलम्बन गरिने बताए । कम्पनीले अन्तर्राष्ट्रिय व्यावसायिक मापदण्डलाई अनुसरण गर्दै डिजिटल रुपान्तरण प्रक्रियालाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

साधारण सभामा शेयरधनीहरूका सुझावलाई सकारात्मक रूपमा लिइने भन्दै अध्यक्ष संघईले कम्पनीको निरन्तर वृद्धि र व्यवसायिक सफलता सम्भव बनाउन सरकारका सम्बन्धित निकायहरू, नियामक निकायहरू, शेयरधनीहरू, बीमितहरू, अभिकर्ताहरू तथा कर्मचारीहरूको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गरे ।

प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आ.व. २०८०/८१ का चुनौतीहरूलाई अवसरमा बदल्दै कम्पनीले व्यावसायिक उपलब्धिहरू हासिल गरेको बताए। उनले कम्पनी आगामी वैशाख २१ गते २५औँ वर्षमा प्रवेश गर्न लागेको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरिने जानकारी दिनुभयो। साथै, कम्पनीले लगानी विविधिकरणलाई केन्द्रबिन्दुमा राख्दै विभिन्न शहरहरूमा जग्गा खरिद तथा भवन निर्माण प्रक्रिया प्रारम्भ गरिने बताए।

२०८१ असोज मसान्तसम्म कम्पनीको कुल लगानी रु. २१५ अर्ब, जीवन बीमाकोष रु. २०८ अर्ब तथा शेयरधनी कोष रु. १२ अर्ब नाघेको छ। कम्पनीले हालसम्म रु. २८८ अर्ब बीमाशुल्क आर्जन गरी रु. ८४ अर्ब दाबी भुक्तानी गरिसकेको छ। कम्पनीले १ सय ९५ कार्यालय सञ्जालमार्फत देशभर सेवा प्रदान गरिरहेको छ। ग्राहकहरूको हितलाई ध्यानमा राख्दै कम्पनीले समयानुकूल थप सेवा तथा सुविधाहरू उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप