बागलुङमा आइएमई ग्रुपको लगानीमा इला कम्फर्ट लक्जरी होटल सञ्चालनमा

काठमाडौं । आइएमई ग्रुपको लगानीमा बागलुङ बजारमा इला कम्फर्ट लक्जरी होटल सञ्चालनमा आएको छ। यस होटलले कालीगण्डकी कोरिडोर तथा मध्यपहाडी लोकमार्ग हुँदै गण्डकी क्षेत्रका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटकहरूका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध गराउनेछ।

शनिबार आयोजित एक भव्य समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले होटलको सेवा शुभारम्भ गरे। उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले आइएमई ग्रुपले पर्यटन पूर्वाधारमा गरेको लगानीले नेपालको पर्यटन उद्योगलाई सकारात्मक प्रभाव पारेको बताए। उनले नेपालको आर्थिक समृद्धिको भविष्य पर्यटनमै निर्भर रहेको र सरकार यसको प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको उल्लेख गरे।

गण्डकी प्रदेश सरकारका मन्त्री कृष्ण पाठकले आइएमई ग्रुपको लगानीप्रति प्रशंसा व्यक्त गर्दै गण्डकी प्रदेशमा थप लगानी गर्न आग्रह गरे। उनले भने “अध्यक्ष ढकालले मुलुकभर पर्यटन पूर्वाधार विकासमा लगानी गर्दै आउनु भएको छ। यदि अन्यत्र केही अवरोध भए गण्डकी प्रदेशमा आउनुहोस्, हामी स्वागत गर्नेछौं।”

आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले इला कम्फर्ट होटल बागलुङ सञ्चालनले स्थानीय पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले मुलुकभित्र लगानी र रोजगारीको वातावरण कमजोर हुँदा लाखौं नेपाली विदेशिन बाध्य भएको उल्लेख गर्दै सातवटै प्रदेशमा होटल तथा केवलकारसहितका पर्यटकीय पूर्वाधारमा लगानी केन्द्रित गरेको बताए ।

“हाम्रो लगानी पर्यटन र जलविद्युत क्षेत्रमा केन्द्रित छ, जसले अर्थतन्त्र र नागरिकको जीवनस्तर सुधारमा बहुआयामिक फाइदा पुर्याउनेछ,” उनले भने।

बागलुङमा पर्यटन पूर्वाधारको नयाँ आयाम

करिब ३० करोड रुपैयाँ लागतमा निर्माण गरिएको इला कम्फर्ट होटल बागलुङमा स्तरीय आवासका लागि नयाँ मानक स्थापित गर्ने लक्ष्य राखिएको छ। ४ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा २७ वटा अतिथि कक्ष, दुई सुइट र एक विशेष पेन्ट हाउस सहित ३० कोठा आकर्षक रूपमा डिजाइन गरिएको छ। प्रत्येक कोठा पारम्परिक आतिथ्यलाई आधुनिक अनुभूति दिने गरी तयार पारिएको छ।

इला होटल्स एण्ड रिसोर्टका प्रमुख सचिन ढकालका अनुसार यो ब्रान्डले बागलुङ बसाइलाई अविस्मरणीय अनुभव बनाउनेछ। उनले भने, “हामी पाहुनाहरूलाई केवल कोठा मात्र प्रदान गर्दैनौं, उनीहरूको बसाइलाई लामो समय सम्झन लायक क्षणहरू बनाउनेछौं।”

होटललाई सहज पहुँच

पोखरा विमानस्थलबाट केवल १.५ घण्टा दूरीमा रहेको यो होटल पोखरा–बागलुङ सडक मार्गको नियमित सार्वजनिक यातायातका कारण आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकका लागि सहज पहुँचमा छ।

इला कम्फर्ट बागलुङ इला होटल्स ब्रान्डको विस्तार रणनीतिको पहिलो चरण हो। नवलपरासीको गैंडाकोटमा अर्को होटल खोल्ने तयारी छ भने सातै प्रदेशमा विस्तार गर्ने योजना रहेको प्रमुख ढकालले जानकारी दिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री