काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई सांसदहरूसँग प्रभावकारी समन्वय गरेर अघि बढ्न निर्देशन दिएका छन् । सोमबार संसद भवनको लोत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकमा देउवाले सरकारको कामप्रति जनतामा आशा जगाउन र सांसदहरूसँग सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् ।
बैठकमा सांसदहरूले सरकारको कामप्रति असन्तुष्टि व्यक्त गर्दै मन्त्रीहरूको कार्यक्षमतामाथि प्रश्न उठाएका थिए। सांसद रामहरी खतिवडाका अनुसार, विशेषतः अध्यादेश ल्याउँदा सांसदहरूसँग पूर्व-सल्लाह नगरी एकतर्फी ढंगले अघि बढेको भन्दै बैठकमा असन्तोष व्यक्त गरिएको थियो।
“अध्यादेश ल्याउनु अघि सांसदहरूसँग कुनै परामर्श नगरिनु अस्वाभाविक हो,” खतिवडाले भने, “मन्त्रीहरूले यसको स्पष्ट जवाफ दिनुपर्छ। यसै कारण, माघ १८ गते बिहान ८ बजे फेरि संसदीय दलको बैठक बस्ने निर्णय भएको छ।”
सभापति देउवाले मन्त्रीहरूलाई सांसदहरूसँग समन्वय गरेर जनतामा निराशा उत्पन्न हुने कुनै पनि काम नगर्न निर्देशन दिए। “मन्त्रीहरू काम गर्ने बेलामा गल्ती भए खुलेर स्विकार्न र सुधार गर्न तयार हुनुपर्छ,” देउवाले बैठकमा भनेका थिए।
उनले थपे, “दुई ठूला दल मिलेर बनेको सरकारले पनि जनताको अपेक्षाअनुसार काम गर्न सकेन भने पार्टीमाथि गम्भीर प्रभाव पर्छ। त्यसैले गम्भीर भएर जनताको पक्षमा परिणाममुखी काम गर्नुपर्छ।”
बैठकमा सांसदहरूले सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका थिए। कतिपयले “मुस्कानसहितको सेवा” भनाइको व्यंग्य गर्दै मन्त्रीहरू मात्र हँसिलो देखिने तर सेवाग्राही असन्तुष्ट हुने अवस्था अन्त्य हुनुपर्ने धारणा राखे।
सांसदहरूले भने, “यदि सरकार अध्यादेशमार्फत देश चलाउन खोज्दैछ भने यसले लोकतान्त्रिक प्रक्रिया कमजोर बनाउने छ। सांसदहरूसँग छलफल नगरी एकतर्फी निर्णय लिने परिपाटी रोकिनुपर्छ।”
बैठकमा मन्त्रीहरूको कार्यक्षमता सुधार्नुपर्ने र पार्टीलाई निराशाबाट बचाउन ठोस कदम चाल्नुपर्ने सुझावहरू आए। देउवाले पार्टीको भविष्य सुनिश्चित गर्न जिम्मेवार र समन्वयपूर्ण ढंगले अघि बढ्न सबैलाई आह्वान गरे।




