काठमाडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा वित्तीय र प्रविधिगत क्षेत्रमा शानदार प्रगति गर्दै आफ्नो स्थान मजबुत पारेको छ। बैंकले आधार दर ७.४८ प्रतिशत र कोषको लागत ५.२९ प्रतिशत कायम राख्न सफल भएको छ, जुन प्रतिस्पर्धी बैंक तथा वित्तीय संस्थाहरूको तुलनामा उल्लेखनीय रूपमा कम हो। यसले ग्राहकहरूलाई कम ब्याजदरमा ऋण उपलब्ध गराउन मार्ग प्रशस्त गरेको छ।
बैंकको न्यूनत्तम पुँजी कोष अनुपात १४.९९ प्रतिशत रहेको छ, जुन राष्ट्र बैंकको मापदण्डभन्दा निकै माथि छ। यो उच्च अनुपातले जोखिम व्यवस्थापन तथा व्यवसाय विस्तारका लागि आवश्यक बलियो आधार प्रदान गरेको छ।
आर्थिक दृष्टिकोणले पनि बैंकले विगत वर्षको तुलनामा उल्लेखनीय प्रगति गरेको छ। आर्थिक वर्ष २०७९/८० मा रु. ३७.७५ करोड खुद मुनाफा आर्जन गरेको बैंकले २०८०/८१ मा यो रकम ३३ प्रतिशतले बढाउँदै रु. ५०.०३ करोड पुर्याएको छ। प्रति सेयर आम्दानी रु. १२ कायम रहँदा शेयरधनी कोषमा प्रतिफल ७.४२ प्रतिशत रहेको छ, जसले बैंकको लाभप्रदता अझ मजबुत बनाएको छ।
प्रविधिको क्षेत्रमा पनि महालक्ष्मी विकास बैंकले अग्रणी भूमिका निर्वाह गरेको छ। “महालक्ष्मी स्मार्ट साथी” एपमार्फत मुद्धती खाता खोल्नेदेखि कर्जा आवेदन तथा केवाईसी फारम भर्नेसम्मका सुविधाहरू उपलब्ध गराइएको छ। यी अत्याधुनिक सेवा सुविधाले ग्राहकहरूको बैंकिङ अनुभवलाई अझ सरल र प्रभावकारी बनाएको छ।
बैंकले वित्तीय तथा प्रविधिगत दुवै पक्षमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो स्थान मात्र बलियो बनाएको छैन, भविष्यमा थप सम्भावनाको ढोका समेत खोलिरहेको छ।



