कांग्रेस संसदीय दलको बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । आज दिउँसो २ बजे संघीय संसद् भवनको नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने गरी बैठक बोलाइएको हो । संसद्मा विचाराधीन विधेयकमा छलफलसहितका विषयमा छलफल गर्न कांग्रेसले संसदीय दलको बैठक बोलाएको बताइएको छ ।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेका अनुसार बैठक दुई दिन चल्नेछ । सरकारले ल्याएका अध्यादेशमाथि छलफल, आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकहरू तथा यसअघि नै प्रस्तुत भइसकेका तर, विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयकहरूमाथि समेत छलफल गर्न दलको बैठक बोलाइएको घिमिरेले जानकारी दिए ।

आउँदो १८ माघबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् । संसद् अधिवेशन बोलाउन सिफारिस गर्नु केही दिनअघि सरकारले ६ अध्यादेश ल्याएको थियो । ती अध्यादेश पनि राष्ट्रपतिबाट जारी भइसकेका छन् । संसद् अधिवेशन छलेर सरकारले अध्यादेश ल्याएको भन्दै कांग्रेस वृत्तबाट समेत आलोचना भइरहेको छ ।

संसदीय दलको बैठकमा पार्टीका आन्तरिक जीवनमा देखिएका र सुधार गर्नुपर्ने विषयवस्तु भए सघन रूपमा सांसदका बीचमा छलफल गरी निष्कर्षमा पुर्‍याउने कांग्रेसको तयारी छ । यसअघि शनिबार बसेको पदाधिकारी, पूर्व पदाधिकारी र संसदीय दल कार्यसमितिको बैठकले संसद्को आउँदो अधिवेशनमा पार्टी एउटै आवाज र एकढिका भएर प्रस्तुत हुने निर्णय गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री