इजरेल-हमास युद्धविराम : मुक्त हुने बन्धकलाई पर्खँदै इजरेली, घर फर्कने आशामा गाजावासी

काठमाडौं । इजरायल र हमासबीच भएको युद्धविराम सम्झौता आजदेखि कार्यान्वयन सुरु भएको छ । शनिबार बिहान इजरायलको मन्त्रिपरिषदले दुई पक्षबीच भएको युद्धविराम सम्झौतालाई अनुमोदन गरेपछि युद्धविराम कार्यान्वयनमा आएको हो ।

युद्धविराम सम्झौताअन्तर्गत आज मुक्त हुने पहिला तीन बन्धकहरू प्राप्त गर्ने तयारी छ । अर्को ६ सातासम्ममा हमासको कब्जामा रहेका तीन–तीन बन्धकहरूको सट्टामा एक हजार भन्दा बढी प्यालेस्टिनी बन्दीहरूलाई इजरेलले छाड्ने तयारी गरेको छ । युद्धविराम लागू भएसँगै आफ्नो घरबाट विस्थापित भएर अस्थायी शिविरमा बसिरहेका प्यालेस्टिनीले आफूहरूमा घर फर्कने आशा जागेको बताएका छन् ।

यूकेमा बसोबास गर्ने एकजना इजरेली एडम मानिटका भाइ साची इडनलाई सन् २०२३ को अक्टोबरमा हमास लडाकुहरूले बन्धक बनाएर लगेका थिए । उनले आफू र आफ्नो परिवार चिन्तित रहेको र आफूहरूले कुन बन्धक मुक्त भएर घर फर्किए भन्ने समाचार कुरिरहेको बताए । इडनलाई हमास बन्दुकधारीले बन्धक बनाउनुअघि उनकी १८ वर्षीय छोरी मायानको हत्या पनि गरेका थिए ।

मानिटले गत वर्ष हमासले जारी गरेको एउटा भिडिओमा इडन देखापरेका भए पनि त्यसपछि उनीबारे केही खबर प्राप्त नगरेको बताए। यद्यपि हमासले उनी मारिएको बताएको छ । उनले भने, ‘हामासले यो अवस्थामा कसरी व्यवस्थापन गरिरहेको छ भनेर तपाईँ कल्पना गर्न सक्नु हुन्छ । अहिले पनि हामीलाई बन्धकहरूमध्ये को जीवित छन् र को छैनन् भन्ने थाहा छैन ।’

गाजावासी के भन्छन् ?
युद्धविराम कार्यान्वयनको समय नजिकिँदै गएका बेला खान युनिसस्थित अस्थायी शिविरमा बसिरहेका गाजावादीहरूले आफ्नो गृहनगरमा फर्कने आशा गरिरहेको समाचार संस्था रोएटर्सलाई बताएका छन् । ‘हामी ईश्वरका नाममा के आशा गर्छौं भने आज युद्धको अन्तिम दिन हो,’ महमूद शेख आबेद भन्छन् ।

उनले रफाहस्थित आफ्नो घर छाडेर अस्थायी शिविरमा आउनु परेको थियो । यद्यपि उनी अझै पनि युद्धविराम अघि बढ्नेमा चिन्तित छन् । उनी भन्छन्, ‘आशा छ यस सम्झौताको उल्लङ्घन हुने छैन ।’ रफाहकै बिलाल अल(नहवानी भन्छन्, ‘गाजाका मानिसहरू थाकेका छन्, भोकाएका छन् । प्रत्येक घरमा मानिसहरू शहीद भएका वा घाइते भएका वा नियन्त्रणमा लिइएका छन् । यो अति भइसक्यो, गाजाका मानिसहरूले धेरै पीडा भोगिसके।’

गजान तारेक जुम्लोटले भने, ‘हामी आशा गर्छौँ यो युद्धविराम वास्तविक हो र हामी जबलियास्थित हाम्रो घरमा फर्कनेछौँ अनि हाम्रा परिवार र साथीहरूको अवस्था थाहा पाउनेछौँ ।’

सम्झौताअनुसार युद्धविरामको पहिलो दिन तीनजना बन्धकहरूलाई हमासले रिहा गर्ने अपेक्षा गरिएको इजरेलले जनाएको छ । हमासनिकट एक स्रोतले एएफपी समाचार संस्थालाई बताए अनुसार सुरुमा छुट्ने ती मानिसहरू महिला हुनेछन् । कतार, अमेरिका र इजिप्टले मध्यस्थता गरेको यस सम्झौता अनुसार पहिलो चरण झण्डै छ साता लामो हुनेछ ।

जसक्रममा १५ महिनादेखि हमासको नियन्त्रणमा रहेका ३३ जना इजरेली बन्धकहरू चरणबद्ध रूपमा छुट्नेछन् । जसमा धेरैजसो महिला, बालबालिका र जेष्ठ नागरिकहरू हुनेछन् । त्यसको साटो इजरेली जेलमा रहेका सयौँ प्यालेस्टिनी बन्धीहरू समेत छाडिनेछ। शुक्रवार इजरेलको न्याय मन्त्रालयले पहिलो आदानप्रदानका क्रममा छाडिने ९५ जना प्यालेस्टिनी बन्दीहरूको सूची सार्वजनिक गरेको थियो । समाचार संस्था एएफपीका अनुसार त्यसमा ६९ जना महिला, १६ जना पुरुष र १० जना बालबालिकाहरू छन् ।

दोस्रो र तेस्रो चरणमा के हुन्छ ?
युद्धविराम सुरु भएको १६औँ दिनमा दोस्रो चरणका लागि वार्ताहरू सुरु हुनेछन् । दोस्रो चरणमा बाँकी सबै बन्धकहरू रिहा र गाजाबाट पूर्ण रूपमा इजरेली फौज फिर्ता हुनुपर्ने सम्झौतामा व्यवस्था गरिएको बताइएको छ । त्यससँगै त्यहाँ दिगो शान्ति ब्युँताउने काम सुरु हुने बताइएको छ । तेस्रो तथा अन्तिम चरणमा गाजा पुनर्निर्माणको कामहरू हुनेछ । त्यसका लागि वर्षौँ लाग्न सक्छ ।

उक्त चरणमै त्यहाँ यदि बन्धक बनाइएकाहरूका शवहरू रहेमा त्यो समेत फिर्ता गर्ने कामहरू हुनेछ । बीबीसी भेरिफाइको अध्ययन अनुसार हमाससँग अझै ९४ जना बन्धकहरू छन् । तीमध्ये ३४ जनाको मृत्यु भइसकेको हुनसक्ने ठानिएको छ । बीबीसी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री