साहित्यकार महेशराज खरेलको नयाँ कृति ‘देश विदेश’ पाठकमाझ

काठमाडौं । साहित्यकार महेशराज खरेलले आफ्नो तेस्रो कृति देश विदेश पाठकमाझ ल्याएका छन्। कविताबाट आफ्नो साहित्यिक यात्रा सुरू गरेका खरेलले यसपटक नियात्राको माध्यमबाट पाठकहरूलाई देश र विदेशको अनुभव गराएका छन्।

२८४ पृष्ठको यो कृतिमा १९ शीर्षक समेटिएका छन्, जसले पाठकलाई विविधतायुक्त यात्रा गराउँछ। वरिष्ठ समालोचक प्रा. डा. हेमनाथ पौडेलले लेखेको गहन भूमिका यस कृतिको थप आकर्षण हो। देश विदेश लाई ओरिएन्टल पब्लिकेसनले प्रकाशित गरेको छ, जसको मूल्य रु ५०० निर्धारण गरिएको छ।

महेशराज खरेलको पहिलो कृति मनको किरण (२०७७) कवितासङ्ग्रह थियो, जुन कवितामार्फत उनको साहित्यिक पहिचानको पहिलो पाइला बन्यो। त्यसपछि आएको आत्मकथात्मक उपन्यास यात्रा जिन्दगीको (२०७९) ले उनको लेखन यात्रालाई थप उचाइ प्रदान गर्‍यो। अब, देश विदेश मार्फत उनी पाठकलाई साहित्यिक यात्राको नयाँ आयाम देखाउन खोजिरहेका छन्।

महेशराज खरेल केवल साहित्यकार मात्र होइनन्, उनी एक अनुभवी बैंकर पनि हुन्। राष्ट्रिय बाणिज्य बैङ्कमा २९ वर्ष सेवा गर्दै मुख्य प्रबन्धकको भूमिकामा कार्यरत रहेपछि उनले अवकाश लिएका थिए। त्यसपछि उनले अजोड इन्स्योरेन्स लिमिटेडमा सहायक महाप्रबन्धकका रूपमा तीन वर्ष काम गरे।

ट्रेडयुनियन क्षेत्रमा पनि खरेलको भूमिका महत्त्वपूर्ण रह्यो। उनी राष्ट्रिय बाणिज्य बैङ्क कर्मचारी सङ्घका महासचिव र अध्यक्ष, अन्तर संस्थान कर्मचारी सङ्घ राष्ट्रिय समितिका महासचिव तथा अन्तरबैंक कर्मचारी सङ्घ (बिफू) नेपालको अध्यक्ष पदमा कार्यरत रहे। उनले विभिन्न आन्दोलनको नेतृत्व र संयोजन गर्नुका साथै देश तथा विदेशमा ट्रेडयुनियन कर्मीका हैसियतले प्रतिनिधित्व गरेका छन्।

अहिले खरेल साहित्य सृजनामा पूर्ण समय व्यतीत गरिरहेका छन्। बैंकिङ र ट्रेडयुनियनको अनुभवलाई साहित्यमा पस्केर उनले आफ्नो लेखनलाई थप परिपक्व बनाएका छन्। देश विदेश उनको अनुभवको प्रतिबिम्ब हो, जसले पाठकलाई सोच र भावनाको नयाँ यात्रा गराउनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मैनालीको ‘मुकाम रणमैदान’लाई मदन पुरस्कार, जगदम्बा-श्री यादवलाई

काठमाडौं । २०८० सालको मदन पुरस्कार मोहन मैनालीको पुस्तक ‘मुकाम रणमैदान’ले पाउने भएको छ । …

प्रतिकृया दिनुहॊस