सरकारी वकिलले भने- रविलाई थुनामा नराखे प्रमाण नष्ट हुन्छ, थुनामा पठाऔँ

फाइल तस्वीर

काठमाडौँ । काठमाडौं जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा रविको थुनछेक बहस भइरहेको छ । इजलासमा सरकारी वकिलहरूले बहस गरिरहेका छन् ।

सरकारी वकिलहरूले लामिछानेलाई थुनामै राख्नुपर्ने जिकिर गरेका छन् । सहकारीको रकम हिनामिना गरेकाले उनलाई यत्तिकै बाहिर राख्न नहुने बताएका छन् । सरकारी वकिलहरूले रविलाई थुना बाहिर राख्दा प्रमाण नष्ट गर्न सक्ने तर्क गरे ।

‘प्रतिवादीमाथि विभिन्न मुद्दाहरू दर्ता भएका छन् । सहकारी ठगी, सम्पत्ति सुद्धिकरण लगायतका मुद्दा छन् । अहिले नै थुनाबाहिर राख्नु उचित हुँदैन, यसो गरे प्रमाण नष्ट हुन सक्छ’ एक सरकारी वकिलले भने ।

प्रहरी अनुसन्धानका अनुसार, लामिछानेले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ अनियमित रूपमा लिएको आरोप लागेको छ । यही रकम बिगो माग गर्दै सरकारी वकिलले अभियोग पत्र दायर गरेका थिए ।

जाहेरवालाको तर्फबाट बहस सकिएपछि लामिछाने पक्षका कानुन व्यवसायीले प्रतिवाद गर्नेछन् । सहकारीको रकम अपचलनमा अभियोग लागेपछि रवि लामिछाने आइतबार अदालतमा उपस्थित भएका थिए । अब थुनछेक बहसले लामिछाने थुनामा जाने वा रिहा हुनेबारे निर्णय गर्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री