काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुङ्ग्याउन दबाब सृजना गर्नुपर्ने बताएका छन् ।
बेपत्ता योद्धा राजेन्द्र ढकालको २६ औँ स्मरण दिवसका अवसरमा आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिकको सार्वजनिकीकरणको सवाल’ विषयको कार्यक्रममा उनले शान्तिप्रक्रियालाई निष्कर्षमा र्पुयाउन सबैले दबाब सिर्जना गर्नुपर्ने अवस्था उत्पन्न भएको बताए । शान्तिप्रक्रियालाई निष्कर्षमा पुग्न नदिन केही तत्व लागेका उल्लेख गर्दै उनले भने, ‘शान्तिप्रक्रियालाई जटिल मोडमा र्पुयाउने प्रवृत्ति पनि देखिएको छ, त्यो तत्वले टुङ्गिन लागेको शान्तिप्रक्रियालाई रोकिराखेको छ ।’
शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई चाँडो टुङ्गोमा र्पुयाउन सबै राजनीतिक दल इमान्दार हुनुपर्नेमा जोड दिँदै उनले यससम्बन्धमा नेपाली कांग्रेस र नेकपा (एमाले) सँग छलफल गर्ने बताए ।
एमाले नेता अग्नि खरेलले शान्तिप्रक्रियालाई टुङ्गो लगाउन सरकार र आफ्नो पार्टी इमान्दार रहेको बताए । ‘शान्तिप्रक्रियालाई सफल बनाउन सरकार सकारात्मक छ, एमाले केन्द्रीय समिति बैठकमा पेस भएको दस्तावेजमा पनि शान्तिप्रक्रियालाई निष्कर्षमा लैजाने विषय उल्लेख छ’, उनले भने, ‘शान्ति प्रक्रियालाई निष्कर्षमा र्पुयाउन सरकार र विपक्षी दल एक ठाउँमा उभिनुपर्छ ।’
पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउन कानुनी पक्षलाई मात्र नहेरी द्वन्द्वपीडित दुवैपक्षबीच सहमति एवम् विश्वासको वातावरण बन्नुपर्नेमा जोड दिए । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषय टुङ्ग्याउन विलम्ब भएमा मुलुकको छवि अन्तर्राष्ट्रिय रुपमा धुमिल हुने बताए ।
प्रतिकृया दिनुहॊस