काठमाडौं । लक्ष्मी सन्राईज बैंकको अगुवाईमा सहवित्तियकरणमा सहभागी बैंकहरु र अप्पर मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रा. लि. बीच लमजुङ्ग जिल्लास्थित मर्स्याङ्दी नदीमा निर्माण हुने १०२ मेगावाट क्षमताको अप्पर मर्स्याङ्दी–१ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ।
यो परियोजना कुल रु २१.४० अर्ब लागतको हुनेछ र यस सहकार्यले नेपालको नवीकरणीय ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। अप्पर मर्स्याङ्दी हाइड्रोपावर–१ को विद्युत उत्पादनको अनुमति पत्र २०७५ सालको पौष १० गते प्राप्त भएको थियो र नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता २०८१ सालको पौष ०९ गते सम्पन्न भएको छ।
सो परियोजनाको लागि लक्ष्मी सन्राईज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्धक र संस्थापकहरुको लगानी रहनेछ। लक्ष्मी सन्राईज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ७ अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु, ग्लोबल आइएमइ बैंक र प्रभु बैंकका बीचमा क्रमशः ६ अर्ब र ३ अर्बका लगानीहरु हुनेछन्।
यो आयोजना २०२९ सालभित्र निर्माण सम्पन्न भएर विद्युत उत्पादन शुरु गर्ने लक्ष्य राखिएको छ। परियोजना सञ्चालनमा आएपछि यसले वार्षिक करिव ५८३.०३ गिगावाट आवर ऊर्जा राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ र यो एक प्रमुख स्वतन्त्र उर्जा उत्पादकको रुपमा स्थापित हुनेछ।




