रजत जयन्तीको अवसरमा २५ वर्षे यात्रा समेटिएको फोटो प्रदर्शनी आयोजना गर्दै इप्पान

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले पीजे क्लबसँगको सहकार्यमा बृहत् फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ । आगामी माघ ४ गते मेरियट होटेल काठमाडौंमा हुन गइरहेको रजत जयन्ती विशेष समारोहमा फोटो प्रदर्शनी गर्ने सम्बन्धमा इप्पान र पीजे क्लबबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

फोटो प्रदर्शनीको व्यवस्थापन गर्ने सम्बन्धमा बुधबार इप्पान अध्यक्ष गणेश कार्की र पीजे क्लबका अध्यक्ष द्वारिकाप्रसाद काफ्लेबीच सम्झौतापत्र आदान प्रदान भएको छ । इप्पान स्थापनाको २५ वर्ष पुगेको अवसरमा इप्पानमा आबद्ध ऊर्जा उत्पादक कम्पनीहरूले नेपालको ऊर्जा क्षेत्रको विकाससँगै स्थानीय क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा पु¥याएको योगदान देखिने ५० वटा फोटो प्रदर्शनीमा राखिने इप्पान अध्यक्ष गणेश कार्कीले जानकारी दिए ।

इप्पानले आयोजना गर्ने फोटो प्रदर्शनीलाई दुई भागमा विभाजन गरेर व्यवस्थापन गरिने पीजे क्लबका अध्यक्ष द्वारिका काफ्लेले बताए । जसअनुसार स्वतन्त्र व्यक्ति तथा कम्पनीहरूले पठाएको फोटोलाई पीजे क्लब र इप्पानका प्रतिनिधिसहितको स्वतन्त्र निर्णायक मण्डलले छनोट गरी प्रदर्शनीमा राखिनेछ । यसमा आउने तस्बिरहरूबाट उत्कृष्ट प्रथम, द्धितीय र तृतीय हुने तस्बिरलाई क्रमशः ३०, २० र १० हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिनेछ ।

अर्कोतर्फ पीजे क्लबकै अगुवाइमा इप्पानमा आवद्ध सदस्य कम्पनीहरूले प्रवर्द्धन गरेका आयोजनाहरूको तस्बिर संकलन गरेर प्रदर्शनीमा राखिनेछ । पीजे क्लबले संकलन गरेका तस्बिरहरू प्रदर्शनीमा राखिए पनि प्रतियोगिताका लागि मान्य हुने छैनन् । ती तस्बिरहरू इप्पानको सम्पत्ति मात्रै हुनेछन् ।

सम्झौतापत्र आदान प्रदान समारोहमा इप्पानबाट अध्यक्ष कार्कीसहित कोषाध्यक्ष नरेन्द्रबल्लभ पन्त, प्रमुख कार्यकारी अधिकृत भीम गौतम, पीजे क्लबबाट अध्यक्ष काफ्लेसहित महासचिव अमुल थापा र प्रदर्शनी संयोजक ज्ञानेन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो ।
फोटो प्रतियोगितामा भाग लिनको लागि यही पुस २० गतेभित्र ऊर्जासँग सम्बन्धित फोटोहरू पठाइसक्नुपर्ने छ । त्यस्तै, रजत जयन्तीकै अवसरमा ५० हजार पुरस्कार राशीको छोटो भिडियो/वृत्तचित्र प्रतियोगिता समेत आयोजना गरिएकोले सहभागिताको लागि इप्पानले आग्रह गरेको छ । त्यसका लागि पनि पुस २० गतेभित्र भिडियो पठाइसक्नुपर्ने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ऊर्जामन्त्री खड्काद्वारा ‘ट्रान्सफर्मर परीक्षण प्रयोगशाला’ शुभारम्भ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पुल्चोक क्याम्पसमा निर्माण गरिएको ‘ट्रान्सफर्मर परीक्षण प्रयोगशाला’ …

प्रतिकृया दिनुहॊस