देशको सार्वभौमसत्ता संरक्षणका लागि ज्यानको बाजी थापेर बिपी स्वदेश फर्किएको दिन

  • आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं । आठवटा मृत्युदण्डका मुद्दा खेपिरहेका तत्कालीन जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले राष्ट्रियता र राष्ट्रिय एकताको लागि आफ्नो जीवन समर्पण गर्दै स्वदेश फर्किएको ऐतिहासिक दिनलाई स्मरण गर्दै आज मेलमिलाप दिवस मनाइँदैछ ।

वि.सं. २०३३ पुस १६ गते बिपी कोइरालाको नेतृत्वमा नेपाली कांग्रेसका अन्य शीर्ष नेताहरू गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थी लगायतका नेताहरू करिब आठ वर्ष लामो निर्वासन जीवन समाप्त गर्दै स्वदेश फर्किएका थिए ।

भारतमा निर्वासनका क्रममा सिक्किमको भारतमा विलय लगायतका घटनालाई नजिकबाट देखेका कोइरालाले राष्ट्रको एकता र स्वाभिमान जोगाउन मेलमिलापको नीति अवलम्बन गरेका थिए। भारत र पाकिस्तानको विभाजन र अन्य एसियाली देशहरूमा देखिएको विखण्डनको जोखिमबाट देशलाई जोगाउन ४९ वर्षअघि उनले जोखिमपूर्ण स्वदेश फर्कने निर्णय गरेका थिए।

वि.सं. २०१७ पुस १ गते राजा महेन्द्रको शाही ‘कु’ पछि बिपी कोइरालालाई सिंहदरबारमा बन्दी बनाइएको थियो। केही समयपछि उनलाई सुन्दरीजलस्थित बन्दीगृहमा राखिएको थियो। आठ वर्षसम्म कैद जीवन बिताएका कोइराला वि.सं. २०२५ मा स्वास्थ्य उपचारका लागि रिहा भए।

रिहापछि भारतमा रहँदा उनले निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध राजनीतिक गतिविधि सञ्चालन गरेका थिए। उनी भारतमा रहेकै समयमा राष्ट्रियता कमजोर हुने खतरा देखेर मेलमिलापको नीति बनाएर स्वदेश फर्किएका थिए।

बन्दी जीवनका क्रममा बिपीले ‘श्वेतभैरवी’, ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘मोदिआइन’ जस्ता साहित्यिक कृतिहरू लेखे। आत्मजीवनी ‘आफ्नो कथा’ र जेल बस्दाका दैनिकी ‘जेल जर्नल’ पनि त्यही समय लेखिएको हो।

यस अवसरमा नेपाली कांग्रेस र यसका भ्रातृ संस्थाहरूले देशभर विविध कार्यक्रम गरी दिवस मनाउँदैछन्। काठमाडौँमा विशेष कार्यक्रमको आयोजना गरिएको छ, जसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उपस्थिति रहनेछ। बिपी सङ्ग्रहालयले पनि विशेष कार्यक्रमको आयोजना गरेको छ।

मेलमिलाप दिवसलाई स्मरणमात्र होइन, यसको मर्मअनुसार राष्ट्रको एकता र मेलमिलापका लागि सबै पक्षले योगदान गर्नुपर्ने सरोकारवालाहरूको धारणा छ। राष्ट्रियताका लागि ज्यान अर्पण गर्ने नेताहरूको योगदान सम्झनु मात्रै नभई, त्यसलाई कार्यान्वयनमा उतार्न आजको दिनले प्रेरणा दिनुपर्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री