काठमाडाैं । सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज आठौं पटक म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका क्रममा रहेका लामिछानेसहित पाँच जनालाई आज पनि म्याद थपका लागि अदालतमा उपस्थित गराइएको हो ।
प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई अदालतमा उपस्थित गराएको हो । प्रहरीले अनुसन्धान रिपोर्ट बुझाए पनि अध्ययन गर्न समय लाग्ने भएकोले म्याद थप मागिएको हो । पुस ५ भित्रै सबै जनाको अभियोग पत्र दर्ता हुने बताइएको छ ।
प्रहरीले दिएको राय हुबहु कार्यान्वयन गर्ने वा नगर्ने निर्णय सरकारी वकिल कार्यालयले गर्नेछ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान थालेको ८४ दिनपछि सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ ।
तीमध्ये ३७ जना फरार प्रतिवादी छन् । उनीहरुविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ । अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसके पनि अझै केही दिन म्याद थप्ने तयारी गरिएको छ ।
प्रतिकृया दिनुहॊस