अंगदान र प्रत्यारोपणसम्बन्धी जानकारी अब अनलाइनबाटै पाउन सकिने

काठमाडौं । नेपालमा अंग प्रत्यारोपण गर्नुपर्ने बिरामी तथा दान गर्ने दाताले अब अनलाइनबाटै जानकारी लिन सक्ने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु तथा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको संयुक्त नियन्त्रणमा रहने गरी अनलाइन सेवा सुचारु गरेको हो ।

अनलाइनमार्फत अंगदान गर्ने जो कोहीले दर्ता गराउन सकिने तथा लिन चाहनेले जानकारी समेत पाउने गरी अनलाइन सेवा सुरु गरिएको मन्त्रालयले जनाएको छ । मष्तिष्क मृत्युपश्चात तत्काल जानकारी अनलाइनमा राखिने भएकाले यसले प्रत्यारोपण कुरिरहेका बिरामी उपचाररत अस्पतालले समेत तत्काल अंग प्रत्यारोपणका लागि जानकारी प्राप्त गर्न सक्छ । दाता तथा बिरामीले केन्द्रको वेबसाइटमार्फत जानकारी लिन सक्ने शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

अनलाइन सेवाको स्वास्थ्यमन्त्री पौडेलले उद्घाटन गरेका हुन् । सरकारले नागरिकका लागि निःशुल्क मिर्गौला प्रत्यारोपण तथा डायलासिस सेवा उपलब्ध गराइरहेको भन्दै मन्त्री पौडेलले धेरैको ज्यान बचाउन नागरिकका लागि मष्तिष्क मृत्युपश्चात अंगदान प्रोत्साहन गर्न कार्यक्रम शुरु भएको बताए । उनले भने, ‘९८ प्रतिशत मिर्गौला तथा ९० प्रतिशत नागरिक फोक्सो प्रत्यारोपणपछि सामान्य जीवन बाँचिरहेका छन् । हामी प्रत्यारोपण सेवा अझ विस्तार गर्न प्रतिबद्ध छौँ ।’ मष्तिष्क मृत्यु भएका नागरिकबाट अंगदान प्रबद्र्धनका लागि भन्दै हालै मात्र दाताको परिवारलाई २ लाख तथा ७५ हजार अस्पतालका लागि दिने निर्णय गरीएको थियो ।

पछिल्लो १२ वर्षमा अंग प्रत्यारापण केन्द्रमार्फत १ हजार ३३५ मिर्गौला तथा ३० जनाको फोक्सो प्रत्यारोपण भैसकेको छ । यसबाहेक प्रदेशमा समेत सेवा बिस्तारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सुर्खेत प्रादेशिक अस्पतालले अंग प्रत्यारोपण सेवा दिइरहेकामा भेरी अस्पताल घोराही दाङ, सुदूरपश्चिम प्रदेशमा धनगढीस्थित सेती प्रादेशिक अस्पताल तथा बाग्मतीको भरतपुर अस्पतालमा समेत मानव अंग प्रत्यारोपण सेवा विस्तार गर्ने लक्ष्य लिएको मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री