साञ्जेन जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु, राष्ट्रिय प्रणालीमा बिजुली प्रवाह

काठमाडौं । चिलिमे हाइड्रोपावरको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली अब व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ। सोमबार साँझदेखि सम्पूर्ण प्राविधिक परीक्षण पूरा गरी यस आयोजनाबाट उत्पादित बिजुली प्रणालीमा प्रवाह गरिएको हो।

रसुवाको आमाछोदिङ्मो–५ मा निर्माण भएको ४२.५ मेगावाट क्षमताको यो आयोजना गत मङ्सिर ८ गतेदेखि परीक्षण उत्पादनमा थियो। आयोजनाको पहिलो युनिटले सोही मितिमा उत्पादन सुरु गरेको थियो। सबइञ्जिनियर रविन कोइरालाका अनुसार आयोजनाबाट उत्पादित बिजुली अबदेखि व्यावसायिक रूपमा राष्ट्रिय प्रसारण लाइनमा प्रवाह भइरहेको छ।

साञ्जेन र साञ्जेन (माथिल्लो) आयोजनाहरू ‘क्यास्केड मोडल’ मा निर्माण गरिएका छन्। यी आयोजनाहरू अर्धजलाशययुक्त संरचनामा आधारित छन्। माथिल्लो आयोजना विसं २०८० भदौमा निर्माण सम्पन्न भई असोज २१ गतेदेखि नै विद्युत् प्रणालीमा योगदान गर्दै आएको थियो। आयोजनाको लागि कम्पनीले ८ किलोमिटर लामो ११ केभी डबल सर्किट प्रसारण लाइन र १३२/११ केभी सबस्टेसन निर्माण गरेको छ।

२०७२ सालको भूकम्प, कोभिड–१९, नाकाबन्दी, र प्रसारण लाइनको अभावका कारण आयोजनाहरू निर्धारित समयमा सम्पन्न हुन सकेका थिएनन्। तर हालै चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सम्पन्न भएपछि यी आयोजनाहरूलाई राष्ट्रिय प्रणालीमा जोड्न सम्भव भएको हो।

साञ्जेन माथिल्लो आयोजनाको बाँधस्थलमा निर्माण गरिएको करिब ४४,००० घनमिटर क्षमताको ‘पिकिङ पोखरी’ले साँझको समयमा विद्युत् उत्पादन बढाउन र प्रणालीलाई ७० मिनेटसम्म सहज बनाउन मद्दत पुर्‍याउँछ। आयोजनाका प्रमुख कार्यकारी अधिकृत अर्पणबहादुर सिंहका अनुसार यो पोखरीले विद्युत् प्रणालीमा असन्तुलन समाधान गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

नेपालमा पहिलोपटक जर्मन प्रविधिको अत्याधुनिक उपकरण जडान गरिएको यो आयोजना क्यास्केड मोडलका लागि एक उदाहरणीय नमुना बनेको छ। यस प्रविधिले मर्मतसम्भारको समयमा पनि तल्लो आयोजनाबाट विद्युत् उत्पादन निरन्तरता दिन सकिने सुनिश्चित गरेको छ।

साञ्जेन आयोजनाले जलविद्युत् विकास, नवीकरणीय ऊर्जा, र दिगो विकासका क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि अनुसन्धान र प्रयोगात्मक अध्ययनको अवसर प्रदान गर्नेछ। काठमाडौँ विश्वविद्यालयले पनि यस आयोजनालाई नमुना परियोजनाका रूपमा अध्ययनमा समेटेको छ।

व्यावसायिक उत्पादन सुरु भएसँगै साञ्जेन जलविद्युत् आयोजनाले हिउँदमा बिजुलीको उच्च माग पूरा गर्न सहयोग गर्नेछ। यो आयोजनाले राष्ट्रिय प्रणालीमा सन्तुलन कायम राख्दै ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री