काठमाडौं । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । बिहीबार बिहान गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरो लागेको छ । बिहानै हुस्सु कुहिरो लाग्दा जनजीवन प्रभावित भएको छ । बिहीबार दिउँसो र राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।
देशभर चिसो बढेको छ । आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो चार डिग्री सेल्सियस रहेको मौसमविद् सरोज पुडासैनीले बताए । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ ।
आज ६ः४५ बजे सूर्योदय हुनेछ भने अपराह्न ५ः१० मा सूर्यास्त हुनेछ । महाशाखाले पनि बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरुमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा क्षणिक-आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।




