सूचना प्रविधिमा लगानी बढाए नेपाल पनि जापान र कोरिया जस्तै : गगन थापा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपालमा विदेशी लगानीकर्ताको आकर्षण घटिरहेको बताएका छन् । विदेशी कम्पनीहरूले नेपालमा कमाएको मुनाफा विदेश लैजान अवरोध गर्दा लगानीकर्ता त्रसित रहेको उनले बताएका छन् ।

उनले मंगलबार मानवअधिकार तथा शान्ति समाजले काठमाडौंमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा यो कुरा राखेका हुन् । ‘नेपालले विदेशी लगानीकर्ता ल्याउन चाहन्छ, तर उनीहरूका लागि उपयुक्त वातावरण छैन’, थापाले भने। उनले सरकारको प्रमुख दायित्व लगानीकर्तालाई विश्वास दिलाएर निजी क्षेत्रलाई रोजगारी सिर्जनाका लागि सशक्त बनाउनु रहेको बताए ।

थापाले रोजगार सिर्जना सरकारको एक्लो काम नभई निजी क्षेत्रको जिम्मेवारी भएको दोहो¥याउँदै भने, ‘निजी क्षेत्रले एक आर्थिक वर्षमा पाँच लाख रोजगारी सिर्जना गर्न सक्ने वातावरण बनाउनु सरकारको काम हो ।’ उनका अनुसार, समाजले निजी क्षेत्रको नाफालाई स्वीकार नगर्दासम्म लगानी आउने सम्भावना न्यून छ । ‘दया गरेर लगानी आउँदैन, नाफा खोज्नेमाथि नकारात्मक सोच राख्ने हो भने विकास र रोजगारी सिर्जना हुँदैन’, उनले थपे ।

महामन्त्री थापाले राजनीतिक दलहरूको वर्तमान कार्यशैलीप्रति असन्तोष व्यक्त गरेका छन् । ‘सिर्जना गर्न बाँकी तीन वर्षमा जिम्मेवारी लिन कसले अगाडि आउँछ ?’ उनले प्रश्न गरे । उनले वर्तमान सरकारलाई रोजगारीलाई प्राथमिकतामा राख्दै दीर्घकालीन लक्ष्यभन्दा तत्कालीन समस्याको समाधान गर्न आग्रह गरे । थापाले सूचना प्रविधिको क्षेत्रमा कार्यरत नेपाली कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्न राष्ट्र बैंकले विदेशी मुद्रा सटहीको सुविधा दिनुपर्ने बताए । ‘सूचना प्रविधिमा लगानी बढाएर नेपालले आगामी २० वर्षमा जापान र कोरियाजस्तै विकसित राष्ट्रको स्वरूप लिन सक्छ’, उनले दाबी गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री