स्ट्यान्डर्ड चार्टर्डको नेतृत्वमा पहिलो पटक नेपालीको प्रवेश, राणा सीईओमा नियुक्त

काठमाडौं । गोरख राणा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) र बोर्ड सदस्यका रूपमा नियुक्त भएका छन्। उनको कार्यकाल २०८१ पुस १७ गते (१ जनवरी २०२५) बाट सुरू हुने बैंकले जनाएको छ । यो निर्णय २०२४ डिसेम्बर ९ मा सम्पन्न बैंकको बोर्ड बैठकले अनुमोदन गरेको हो ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्नो ३७ वर्षको इतिहासमा पहिलो पटक नेपाली नागरिकलाई सीईओको जिम्मेवारी सुम्पिएको छ । यसअघि बैंकले सधैं विदेशी नागरिकलाई यो भूमिका दिँदै आएको थियो । गोरख राणाको नियुक्ति बैंकको नेतृत्वमा नेपाली क्षमताप्रतिको विश्वासको ऐतिहासिक कदमको रूपमा लिइएको छ ।

राणाले हालका सीईओ अनिर्वाण घोष दास्तिदारलाई प्रतिस्थापन गर्नेछन् । अनिर्वाणले ६ वर्षसम्म बैंकको नेतृत्व गरेका थिए र अब बैंकको बोर्डका विशेष सल्लाहकारको भूमिकामा रहनेछन् ।

गोरख राणा हाल डेपुटी सीईओको रूपमा कार्यरत छन् । उनले बैंकको कर्पोरेट, इन्भेस्टमेन्ट, रिटेल, र वेल्थ बैंकिङमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै बैंकको व्यापार वृद्धिमा उल्लेखनीय योगदान गरेका छन् । अमेरिकाको नक्स कलेजबाट अर्थशास्त्रमा स्नातक र इलिनोइस विश्वविद्यालयबाट एमबीए गरेका राणाले तीन दशकभन्दा बढी समय स्ट्यान्डर्ड चार्टर्डमै बिताएका छन् ।

सञ्चालक समितिका सदस्य सिद्धान्तराज पाण्डेले सामाजिक सञ्जालमार्फत राणाको नियुक्तिको जानकारी दिएका थिए । उनले अनिर्वाण घोष र गोरख राणासँगको तस्वीर पोस्ट गर्दै राणालाई बधाई तथा अनिर्वाणलाई नयाँ भूमिकाको शुभकामना दिएका थिए ।

स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल हाल नेपालमा ७०.२१% विदेशी लगानी र २९.७९% नेपाली सर्वसाधारणको स्वामित्वमा सञ्चालन भइरहेको छ । बैंकले अन्तर्राष्ट्रिय स्तरको सेवा प्रवाह गर्दै आएको छ र गोरख राणाको नेतृत्वमा यसले थप उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकद्वारा नवीकरण प्रतिष्ठान नेपाललाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लामो समयदेखि अनाथ बालबालिकाहरुको लागि काम गर्दै आएको रिन्यू …

प्रतिकृया दिनुहॊस