नगरपालिकाले अलपत्र छाडेको खाल्डोमा जमेको पानीमा डुबेर महिलाको मृत्यु

काठमाडौं । सिरहाको मिर्चैया नगरपालिका–५ बजार क्षेत्रमा नालाका लागि खनेर अलपत्र छाडिएको खाल्डोमा जमेको पानीमा डुबेर एक महिलाको मृत्यु भएको छ । खाल्डोमा परेर स्थानीय २५ वर्षीया रोजिनादेवी महतोको मृत्यु भएको हो ।

आइतबार बिहान पौने ९ बजेतिर हातेकलमा पानी लिएर फर्किने क्रममा चिप्लिएर उनी खाल्डोमा खसेको स्थानीयले जानकारी दिएका छन् । पानीमा डुबिरहेको देखेपछि आफन्त र स्थानीयले निकालेर मिर्चैयास्थित मिर्चैया अस्पताल लगे पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक महिलाको शव पोस्टमोर्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय, मिर्चैयाका डीएसपी पञ्चकुमार बाखुले जानकारी दिए ।

उक्त खाल्डो नगरपालिकाले नाला निर्माण गर्ने भन्दै एक वर्षअघि खनेको स्थानीयले जानकारी दिएका छन् ।नगरपालिकाकै लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै आफन्त र स्थानीय आक्रोशित बनेका छन्। उनीहरूले अहिलेसम्म शव बुझेका छैनन् । नगरपालिका र ठेकेदारलाई कारबाही हुनुपर्ने तथा क्षतिपूर्ति पाउनु पर्ने उनीहरूको माग छ । नगरपालिका र ठेकेदारको लापरबाहीले घटना भएको बताउँदै मृतक महिलाका श्रीमान जीवछ महतोले भने, ‘दुबैलाई कारबाही र क्षतिपूर्तिको व्यवस्था हुनुपर्छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री