स्थानीय तह उपनिर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि

कठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज राति १२ बजेदेखि मौन अवधि सुरू हुँदैछ । मतदानभन्दा ४८ घण्टा अगाडि मौन अवधि सुरू हुन्छ । यो अवधिमा उम्मेदवारले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका गतिविधि गर्न पाउँदैनन् ।

निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुसार यो अवधिमा उम्मेदवारका अतिरिक्त राजनीतिक दलहरूलाई सभा, सम्मेलन, गोष्ठी, भेला, अन्तरक्रियालगायत गतिविधि गर्न रोक लगाइएको छ । मंसिर १६ गते ३७ जिल्लाका ४४ स्थानीय तहका विभिन्न रिक्त पदमा उपनिर्वाचन हुँदैछ ।

दुई जिल्ला समन्वय समिति प्रमुख, एक नगरपालिकाको प्रमुख, एक उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, ४ उपाध्यक्ष, ३४ वडाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो । ४४ रिक्त स्थानमा निर्वाचन भए पनि तीन पद भने निर्विरोध भइसकेको छ । ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा कांग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा पनि कांग्रेसकी टीकाकुमारी चौधरी निर्विरोध भएकी छिन् ।

त्यस्तै, रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर दुईको वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्तीको एकल उम्मेदवारी छ । उपनिर्वाचनमा १६२ मतदान स्थल, २९३ केन्द्र तोकिएका छन् । यो उपनिर्वाचनमा २ लाख २६ हजार ७ सय ९९ मतदाता छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री