काठमाडौं । आठौं संस्करणको ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्डको आवेदन खुला गरिएको छ । अवार्डका कार्यक्रम संयोजक कमला जोशीले मंगलबार एक विज्ञप्ति जारी गर्दै अवार्ड नयाँ संस्करणका लागि आवेदन खुला जानकारी दिनुभएको हो ।
विगत सात वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डमा पहिलो वर्षदेखि नै नेपालमा बोलिने विभिन्न भाषाभाषीका गीतसंगीतलाई विशेष प्राथमिकताका साथ समेटिँदै आएको छ । अहिलेसम्मकै बृहत् संख्याका भाषाभाषीका गीतहरूको उत्साहपूर्वक सहभागिता हुँदै आएकाले यसलाई नेपालकै पहिलो समावेशी अवार्डका रूपमा लिने गरिन्छ ।
नेपालभित्र बोलिने विभिन्न भाषा र भाकाका गीतहरूलाई कार्यक्रममा सहभागी गर्दै आइरहेको यो अवार्डमा काँठे भाका, देउडा भाका, नेपाल भाषा, तामाङ भाषा, मैथली, भोजपुरी, राई, लिम्बु, चौधरी, शेर्पा, मगर, गुरुङ, सतार, सुनुवारलगायत विभिन्न भाषाका गीत र भिडियोहरू अवार्डमा सहभागी हुँदै आएका छन् भने यसवर्ष पनि ती भाषा तथा भाकाका गीतसंगीतलाई अवार्ड कार्यक्रममा समेटिने आयोजक संस्थाले जानकारी दिएको छ ।
अंग्रेजी क्यालेण्डर अनुसार २०२४ जनवरी १ देखि २०२४ डिसेम्बर ३० सम्म (१ वर्षभित्रमा) बजारमा आएका गीत तथा भिडियोलाई समावेश गरिने बताइएको छ । एरा प्रोडक्सन प्रालिको व्यवस्थापनमा सम्पन्न हुने निम अवार्डका फारमहरू आयोजक संस्थाको कार्यालयवाट उपलब्ध हुनुका साथै ग्लोबल अनलाइन पेको अनलाइनमार्फत् भर्न सकिने जनाइएको छ । गीतहरू दर्ता गर्न आवेदनको अन्तिम मिति पुस २० गतेसम्म तोकिएको आयोजक समितिले विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहॊस