काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ८ टिमका मार्की खेलाडीहरूले बिहान धरहरा परिसरबाट एनपीएलको ट्रफी अनावरण गरेका हुन् ।
अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले खेलकुद क्षेत्रलाई जति प्रोत्साहन गर्नुपर्ने हो, त्यति गर्न नसकेको बताए । ‘सरकारले खेलकुद क्षेत्रलाई सहयोग गर्न सकेको छैन, त्यसमा मलाई चित्त बुझेको छैन,’ उनले भने, ‘गर्नुपर्ने जति प्रोत्साहन गर्न सकेको छैन ।’
उनले नेपाली क्रिकेटका लागि आजको दिन विशेष रहेको बताए । ‘नेपाली क्रिकेट इतिहासको विशाल अनि उमङ्गमय पर्व एनपीएलले हाम्रा खेलाडीहरूको सपना र आगामी पुस्ताका लागि प्रेरणा प्रदान गर्दछ,’ प्रधानमन्त्रीले भने, ‘विश्वभरि छरिएर रहेका हाम्रा क्रिकेट प्रेमीहरुमात्र होइन अहिलेको पुस्ताले नेपाली खेलाडीहरूको मेहनत र सफलतालाई गौरवका साथ अङ्गालेका छन् ।’
अनावरणमा प्रधानमन्त्री ओलीसहित खेलकुद मन्त्री तेजुलाल चौधरी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का सहभागी थिए । पहिलो संस्करणको नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ ।
प्रतिकृया दिनुहॊस