लिओनेसालाई हराउँदै बार्सिलोना नकआउट चरणमा

काठमाडाैं । बार्सिलोना कोपा डेल रे को अन्तिम नकआउट चरणमा प्रवेश गरेको छ । दोस्रो श्रेणीको कल्चरल लिओनेसालाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोना अन्तिम १६ मा पुगेको हो ।

बुधबार राति घरेलु मैदानमा दोस्रो रोजाइको खेलाडी उतारेको बार्सिलोनाले सहज जित निकाल्दै दोस्रो चरण प्रवेश गरेको हो । बार्सिलोनाको जितमा डेनिस सुआरेजले दुई गोल गर्दा माल्कम र मुनिर एल हद्ददीले १-१ गोल गरेका थिए । नियमित टोलीका नेल्सन सेमेडो र इभान राकीटिचलाई मात्र पहिलो रोजाइमा राखेका प्रशिक्षक एर्नेस्टो भालभर्डेले बाँकी खेलाडीलाई आराम दिएका थिए ।

राकीटिचको पासमा मुनिर एल अद्ददीले खेलको १८ औं मिनेटमा गोल गर्दै बार्सलोनालाई सुरूवाती अग्रता दिलाए । यस्तै खेलको २६औं मिनेटमा राकीटिचकै पासमा डेनिस सुआरेजले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । यस्तै ४३ औं मिनेटमा राकिटिचकै पासमा माल्कमले हेडरमार्फत गोल गरेपछि पहिलो हाफमै बार्सिलोना ३-० ले अगाडि बढ्यो ।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको लिओनेसाले ५४ औं मिनेटमा गोल गोल गर्दै खेलमा फर्कने संकेत देखायो । उसका लागि जोसे म्यानुएलले दिएको क्रस पासमा सेनेले गोल गर्दै अग्रता कम गराए । तर खेलको ७० औं मिनेटमा बार्सिलोनाका लागि सुआरेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना खेलमा पुनः ३ गोलको अग्रता कायम गर्न सफल भयो ।

यसपछि दुबै तर्फबाट गोल भएन र बार्सिलोना ४-१ ले विजयी भयो । यो सँगै प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन बार्सिलोना समग्रमा ५-१ ले विजयी हुँदै दोस्रो चरणमा पुगेको छ । बार्सिलोनाले पहिलो लेगको खेल १-० ले जितेको थियो । प्रतियोगितामा बार्सिलोनाले लगातार चार पटक उपाधि उचालेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस