काठमाडाैं । मिस वर्ल्ड-२०१८ को फाइनल राउन्डमा छोरी शृंखला खतिवडालाई हौसला प्रदान गर्न शृंखलाका बुबा-आमा चीन जाने भएका छन् । शृंखलाको हौसला बढाउन परिवारको र सम्पूर्ण नेपालीको प्रतिनिधित्व गर्दै अाफूहरू चीन जान लागेकाे शृंखलाका बुबा विरोध खतिवडाले जानकारी दिए ।
प्रतिनिधिसभा सदस्यसमेत रहेका विरोध खतिवडाले भने, ‘आशा गरौँ, हाम्रो उपस्थितिले उनको हौसला बढ्नेछ ।’ चीनको सान्या सहरमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल शृंखला ‘मल्टिमिडिया’ र ‘ब्युटी विथ पर्पस्’ अवार्ड जित्दै फाइनल राउन्डमा प्रवेश गरेकी छिन् । यस राउन्डमा उत्कृष्ट ३० प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धा हुनेछ । यसकै आधारमा उत्कृष्ट १५ छनोट गरी अर्को राउन्डमा लगिन्छ ।
आफूहरू उपस्थित हुँदा छोरीको हौसला बढ्ने अपेक्षासहित बुबा विरोध र प्रदेश-३ की सांसदसमेत रहेकी आमा मुनु सिग्देल बिहीबार चीन जाने भएका हुन् । उनीहरूसँगै २० जनाको टोली बिहीबार साँझ चीन जानेछ । टोलीका अनुसार त्यसका लागि टिकट बुकिङ भइसकेको छ भने बुधबार चिनियाँ रकम युआन साटिँदैछ । चीन जाने टोलीमा आफन्तहरू रहेको शृखंलाका बुबा खतिवडाले जानकारी दिए ।
प्रतिकृया दिनुहॊस