काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणको सशक्त आन्दोलन गर्ने घोषणा गरेको छ । शनिबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले दोस्रो चरणको आन्दोलन घोषणा गरेको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा पार्टी सभापति समेत रहेका रवि लामिछानेमाथि अनुसन्धान जारी छ । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको हो । यसैबीच रास्वपाले पक्राउको विरोधमा आन्दोलन गर्दै आएको थियो । रास्वपाले लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको दाबी गर्दै आएको छ ।
‘सभापति रवि लामिछानेविरूद्ध गरिएको कारबाहीलाई राजनीतिक प्रतिशोधको निकृष्ट कृत्य ठहर गर्दै रास्वपा यस कार्यको घोर भ्रर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र हो भन्ने हाम्रो ठम्याइ छ ।’




