काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) को अवार्ड मन्त्रीपरिषद्को पूर्वस्वीकृतिबेगर लिएको खुलेको छ।
संविधान, सुशासन ऐन तथा नियमावली र विभूषण नियमावलीमा प्रधानमन्त्रीसहित सार्वजनिक पदका व्यक्तिले विदेशी पुरस्कार, उपाधि वा विभूषण लिँदा मन्त्रीपरिषद्को पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ। ओलीले यूपीएफको १ लाख अमेरिकी डलर राशीको पुरस्कार लिँदा आफ्नै नेतृत्वको मन्त्रीपरिषद्लाई जानकारीसमेत नगराएको श्रोतले बतायो।
प्रधानमन्त्री ओलीले कोरियाली विवादास्पद क्रिश्चियन धर्म प्रचारक संस्था युनिफिकेसन चर्चकी प्रमुख हक जा हान मुनको हातबाट उक्त अवार्ड लिएका हुन्। पूर्व मुख्यसचिव विमल कोइरालाले ओलीले लिएको अवार्ड पुरस्कार नभएर क्रिश्चियन सम्मेलन गराउन तीन दिन होटलमै बसेर सहयोग गरेकोमा पाएको बक्सिस भएको बताएका छन्।




