भाइटीकामा कुन-कुन स्थानमा हुँदैछ वर्षा ?

काठमाडौं । यस पटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शुक्रबार पनि मुलुकको केही स्थानहरूमा मौसम बदलीभई छिटपुट वर्षा भएको छ ।

हाल देशभर पश्चिमी र स्थानीय वायुसँगै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीकोसमेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावस्वरुप यतिबेला (शनिबार बिहान) कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागको मौसम आंशिकदेखि साधारणतया बदली छ । बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोसी र बागमती प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसमविद् सञ्जिव अधिकारीले आज पनि मौसम बदली भई भाइटीकाको दिन अझै बढी मौसम बदली हुने र हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिए । ‘आइतबार (भाइटीकाको दिन) कोशी प्रदेशको पहाडी भू–भागका एक दुई स्थान तथा तराईका केही भू–भाग, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यसम्म वर्षाको सम्भावना छ, काठमाडौँ उपत्यकामा पनि मौसम बदली भई हल्का वर्षा हुन सक्छ’, उनले भने, ‘तर पानी परे पनि क्षणिक रुपमा पर्ने हो । कुनै पनि स्थानमा निरन्तर पर्दैन ।’

अधिकारीका अनुसार देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । माहाशाखाले शुक्रबार साँझ जारी गरेको मौसमी बुलेटिन अनुसार पनि शनिबार साँझसम्म कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक-आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन माहाशाखाको अनुरोध छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Bida/सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’ !

आज पनि तिहारको बिदा

काठमाडौं । भाइटीका लगाई आइतबार नै तिहार (यमपञ्चक) समापन भए पनि सोमबार सरकारी कार्यालय खुल्ने …

प्रतिकृया दिनुहॊस