अस्पतालहरूमा रेडियोलोजी फिल्म प्रयोग गर्न नपाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकलाई वार्षिक एक अर्ब बराबरको खर्चभार कम गर्ने गरी संघीय अस्पतालमा रेडियोलोजी फिल्म प्रयोग हटाउने निर्णय गर्नुभएको छ । फिल्ममा हुने खर्च कटाएर एक्सरे, एमआरआई तथा सिटीस्क्यानको शुल्कसमेत नागरिकका लागि घटाउने गरी उहाँले कात्तिक ७ गते मन्त्रीस्तरीय निर्णय गर्नुभएको हो ।

अब सोही आधारमा मन्त्रालय मातहतका संघीय २२ अस्पतालले क्रमैसँग नागरिकलाई डिजिटल रिपोर्ट उपलब्ध गराउनेछन् । स्वास्थ्यका लागिसमेत हानिकारक मानिने एक्सरे फिल्म प्रयोगमा भइरहेको ठूलो धनराशि खर्च कटौती गर्दै नागरिकलाई राहत दिने गरी यस्तो निर्णय गरिएको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

यस्तो निर्णय हाल संघीय अस्पतालमा लागू गरिने र क्रमैसँग निजी तथा अन्य तहगत अस्पतालमा समेत विस्तार गर्ने मन्त्रालयको योजना रहेको मन्त्रालयले जनाएको छ । हाल राजधानीको संघीय वीर अस्पतालले वर्षमा करिब चार करोड रुपैयाँ रेडियोलोजी फिल्मका लागि खर्च गर्ने गरेको तथ्यांक छ । त्यसैगरी कान्ति बाल अस्पतालमा करिब तीन करोड खर्च हुने गरेको छ ।

उक्त निर्णयले संघीय अस्पतालको वार्षिक करिब ५० करोड रुपैयाँ बजेट बचत हुने अनुमान गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘निजी र देशैभर डिजिटल रिपोर्ट दिन सकिए वर्षमा करिब एक अर्ब रुपैयाँ रकम विदेशिनबाट रोकिने अनुमान गरेका छौँ, यसले नागरिकलाई रेडियोलोजी सेवामा लागतसमेत कम पर्ने र स्वास्थ्यमा समेत नकारात्मक प्रभाव कम पर्ने अपेक्षा गरेका छौँ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । जिल्ला अदालत, कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस