रविको पक्राउपछि तातियो पोखरा, निरन्तर प्रदर्शनको तयारीमा रास्वपा

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार पनि पोखरामा प्रदर्शन गर्ने भएको छ । राजनीतिक प्रतिशोधविरुद्धको भनिएको ऐक्यबद्धताका लागि दिउँसो १२ बजेपछि पोखराको पृथ्वीचोकमा प्रदर्शन गर्न लागेको हो ।

रास्वपाले नेता–कार्यकर्तालाई विरोध कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर शनिबार बिहान पोखरा ल्याइएको थियो । शनिबारदेखि नै रास्वपाले विरोध प्रदर्शन गरिरहेको छ । शनिबार चिप्लेढुंगास्थित मानवअधिकार चोकमा प्रदर्शन गरेकोमा आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि सहिदचोकमा उनीहरूले विरोध प्रदर्शन गरे ।

जिल्ला प्रशासन कार्यालयले शहिदचोक आसपास र जिल्ला प्रहरी कार्यालय गैरापाटन आसपास निषेधाज्ञा जारी गरेको छ । आइतबार रास्वपाका समर्थकले निषेधाज्ञा तोडेर सहिदचोकमा प्रदर्शन गरेका थिए । निषेधित क्षेत्रबाट भीड हटाउन खोज्दा दिनभरजसो प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेला भयो । प्रहरीले भीड नियन्त्रणमा लिन पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।

पछि रास्वपाका नेता कार्याकर्ता नाराबाजी गर्दै पृथ्वीचोकमा पुगेर कोणसभा गरेका थिए । आइतबार जिल्ला अदालत कास्कीमा पेश गरिएकोमा रविलाई पक्राउ परेको दिनबाट ६ दिनसम्म हिरासतमा राखेर म्याद थप्न प्रहरीले अनुमति पाएको छ । यसअघि नै पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीको मुद्दासँग मिलान हुने गरी अदालतले लामिछानेमाथि अनुसन्धान गर्न ६ दिनको म्याद दिएको छ । योसँगै अझै ३ दिन रास्वपाका अधिकांश नेता पोखरामै रहेर आन्दोलन चर्काउने देखिएका छन् ।

रास्वपाको आन्दोलनकै कारण आइतबार दिनभर पर्यटकीय शहर पोखरा तनावग्रस्त बन्यो । रास्वपाले पोखरामा आज सोमबार पनि आन्दोलनको तयारी गरेको छ । आज पोखराको पृथ्वीचोकमा जम्मा भएर प्रदर्शन गर्दै पूर्वगृहमन्त्री लामिछानेलाई हिरासतमा राखिएको प्रहरी कार्यालय रहेको गैह्रापाटनसम्म पुग्ने तयारी रहेको रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । ‘राजनीतिक प्रतिशोधले यो हदसम्मको थिचोमिचो हुन्छ भने हाम्रो प्रतिरोध जारी रहन्छ । पोखरा, काठमाडौं हुँदै देशभर आन्दोलन गर्ने क्रम चलिरहेको छ,’ बुर्लाकोटीले भने ।

रास्वपाले पोखरा केन्द्रित आन्दोलन थालेपछि जिल्ला प्रशासन कार्यालयले सुरक्षा चुनौतीको विश्लेषण गरी शहीद चोक र गैह्रापाटन आसपासका क्षेत्रमा निषेधित क्षेत्र समेत घोषणा गरेको थियो । जिल्ला प्रशासन कार्यालयले शहीद चोक आसपासमा पूर्वतर्फ वाई चोक, उत्तरपूर्वतर्फ मिलन चोक, पश्चिमतर्फ फिस्टेल गेट (बैदाम), उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङ चोक र दक्षिणपश्चिमतर्फ पर्यटन बोर्डको कार्यालय अगाडि ड्यामसाइडसम्म निषेधित क्षेत्र तोकेको छ । यसैगरी गैह्रापाटन आसपासमा पालिखेचोकदेखि नविन माविसम्मको सडक क्षेत्रमा पनि धर्ना, जुलुस, प्रदर्शन गर्न नपाउने गरी निषेधित क्षेत्र तोकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिआईजी किरण राणा एआईजीमा बढुवा सिफारिस

काठमाडौँ । प्रहरी नायब महानिरीक्षक (डिआइजी) किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएकी छन् । गृह मन्त्रालय बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा राणालाई बढुवाका लागि सिफारिस गरेको हो ।

प्रतिकृया दिनुहॊस