बाढीपीडितलाई १ करोड बढी सहयोग गर्ने भाटभटेनीको घोषणा

काठमाडौं । भाटभटेनी सुपरस्टोरले केहि दिनअघि आएको बाढीपहिरोका कारण पीडित भएका सर्वसाधारणका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने भएको छ ।

कम्पनीका अध्यक्ष मिनबहादुर गुरुङले सो सहयोग बाढी पीडितको उद्धार र राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा प्रदान गर्न लागेको बताए ।उनले पछिल्लो अविरल वर्षामा हजारौं नागरिक विस्थापित हुने अवस्था आएको भन्दै सरकारी राहत कोषमा सहयोग जम्मा गर्न लागेको बताए ।

उनले भने, ‘अहिले बाढी पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छु ।’यसबारेमा कम्पनीका चीफ अपरेटिङ अफिसर(सीओओ) पानु पौडेलले घोषणा गरिएको रकम सरकारलाई हस्तान्तरण गरिने बताए ।

गत शुक्रबारबाट परेको अविरल वर्षापछि देशभर १९३ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ भने अझै पनि ३५ जना बढी बेपत्ता छन् ।बाढीपहिरोबाट अर्बौं रुपैयाँको क्षति भएको हुँदा मुलुकलाई अप्ठेरो परेको बेलामा सहयोग गर्नु नागरिकको दायित्व पनि भएको उनको प्रतिक्रिया छ ।

गुरुङले यसअघि डा भगवान कोइरालाको नेतृत्वमा रहेको बाल अस्पताल निर्माणका लागि ४१ करोड रुपैयाँ बराबरको सहयोग गरेका थिए । उक्त अस्पताल अहिले निर्माणाधीन अवस्थामा छ ।

अघिल्लो वर्ष जाजरकोटमा गएको भूकम्पपछि उनीहरुको उद्धार र राहतका लागि उनले १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका थिए । त्यसबाहेक ८० लाख रुपैयाँबराबरको खाद्यान्न उक्त क्षेत्रमा पठाएका थिए ।कोभिडका बेला पनि संघीय सरकारसहित सातै प्रदेशमा उनले सहयोग हस्तान्तरण गरेका थिए ।

त्यसअघि २०६८ सालमा त्रिवि शिक्षण अस्पतालमा दुई वटा भवन निर्माण गरिदिएका थिए । साथै उनले ११ करोड लागतमा इमर्जेन्सी भवन बनाइदिएका थिए भने ईएचएस भवन १५ करोड लागतमा तयार पारिदिएका थिए ।

उनले अहिलेसम्म १४ जनालाई एमबीबीएसको अध्ययन पनि गराएका छन् ।उनकै सहयोगका कारण रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका १४ जनाले डाक्टरको रुपमा स्थानीय तहका अस्पतालमा कार्य गरिरहेका छन् ।उनीहरुको पढाइको सम्पूर्ण खर्च भाटभटेनीले नै व्यहोरेको थियो ।

भाटभटेनी सुपरमार्केट नेपालको नाम चलेको व्यापारिक ब्रान्ड हो। मुलुकका विभिन्न स्थानमा दुई दर्जनभन्दा बढी यसको सुपरस्टोरहरु सञ्चालनमा छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वायुसेवा निगमका ‘क्याबिन क्रु’ को विरोध प्रदर्शन

काठमाडौं । आफूहरुमाथि अन्याय र विभेद भएको दाबी गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेस (बिमान परिचारिका) ले विरोध प्रदर्शन गरेका छन् । निगममा लामो समयदेखि कार्यरत ‘क्याबिन क्रु’ हरुले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको र न्यायका लागि गुहार गर्दा पनि व्यवस्थापनले बेवास्ता गरेको भन्दै उनीहरुले निगम केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका हुन् ।

प्रतिकृया दिनुहॊस