आश्विन कृष्ण पक्ष : सुरु भयो सोह्र श्राद्ध

News Dainik is a Nepali news portal. This is news from Nepal. We serve Nepali latest news.

काठमाडौं । सोह्र श्राद्ध सुरु भएको छ । बुधबार प्रतिपदा तिथिको श्राद्ध गरी सोह्र श्राद्ध शुरु गरिँदैछ । बुधबार पूर्णिमा तिथि ८ बजेर ४३ मिनेटसम्म रहनेछ। त्यसपछि प्रतिपदा (परेवा) तिथि लाग्ने भएकाले पहिलो तिथिको श्राद्ध गर्न लागिएको हो ।

मूल वैदिक परम्पराअनुसारको तिथिपत्रमा पनि बुधबार नै प्रतिपदा उल्लेख छ। वैदिक परम्परामा तिथि टुट्दैन। एक सूर्योदयदेखि अर्को सूर्योदयसम्म एउटै तिथि रहन्छ। सनातन धर्मावलम्बीले आश्विन कृष्ण पक्षका १५ दिनलाई पितृपक्षका रूपमा मनाउँछन्।

आमाबाबु नहुनेले यो पक्षभरि नियममा बस्ने र पितृमध्ये एकको तिथिलाई आधार मानेर श्राद्ध गर्छन्। तिथिमै गर्न नसके अन्तिम दिन ‍‍औँसीमा श्राद्ध गर्ने परम्परा छ। यो पक्षका १५ दिनमा अघिल्लो वा पछिल्लो पक्षको एक तिथिसमेत समावेश गरी सोह्र तिथिमा श्राद्ध गरिने भएकाले सोह्र श्राद्ध भनिन्छ।

भाद्रशुक्ल पूर्णिमादेखि आश्विनकृष्ण औँसी वा आश्विनकृष्ण प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदासम्मका तिथिलाई लिएर सोह्र दिन पुर्‍याइन्छ। यी १६ तिथिमध्ये आफ्ना पितृ दिवंगत भएको एक तिथिमा श्राद्ध गर्ने परम्परा छ।

सोह्र श्राद्धमा पिता (बुबा) तर्फका तीन र माता (आमा) तर्फका तीन पुस्तालाई पिण्ड दिएर श्रद्धा अर्पण गरिन्छ। यो श्राद्ध अपराह्नकालमा गर्ने विधान रहेको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले बताए। असोज १६ गते औँसी श्राद्ध गरेपछि सोह्र श्राद्ध सम्पन्न हुनेछ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री