काठमाडौं । बागलुङको गलकोट नगरपालिका-२ भुङ्खानीमा सरकारी नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । शुक्रबार बिहान करिब पौने ९ बजेतिर जीप सडकबाट करिब ३ सय मिटर तल खस्दा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परेको रा १ झ २०० नम्बरको सरकारी गाडी रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको भएको खुलेको छ । गाडीमा जनप्रतिनिधि र पालिकाका कर्मचारीहरु सवार रहेको अनुमा प्रहरीले गरेको छ । मृतकको सनाखत हुन बाँकी छ ।
बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीकाअनुसार घटनास्थलबाट एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । गाडीमा को-को थिए र कति जना सवार थिए भन्ने पनि खुलेको छैन ।
दुर्घटनास्थलमा खोज तथा उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटाइएको छ ।
प्रतिकृया दिनुहॊस