नेपाल टेलिकमको डाटाप्याकेज अब अनलाइन माध्यमबाटै खरिद गर्न सकिने भएको छ । टेलिकमका अनुसार कम्पनीले उपलब्ध गराउँदै आएको विभिन्न डाटा प्याकेज अब नेपाल टेलिकमको वेबसाइटबाटै खरिद गर्न सकिनेछ । यसका लागि ‘अफर डट एनटीसी डट एनइटी डट एनपी’ मा लग अन गर्नुपर्ने कम्पनीले जनाएको छ ।
विभिन्न डाटा प्याकेजको मूल्य र समयावधिसमेत अनलाइनमै उल्लेख गरिएको छ । त्यसपछि ग्राहकले आफ्नो मोबाइल नम्बर र पीयूके नम्बर राख्नुपर्नेछ । आफ्नो सिमको पुक नम्बर थाहा पाउनका लागि १४१५ मा एसएमएस गर्न सकिने कम्पनीले जनाएको छ । सबै विवरण भरेर बाई डाटा प्याक बटन थिचेपछि मोबाइलमा आवश्यक डाटा प्याकेज उपलब्ध हुनेछ । यसका लागि मोबाइलमा आवश्यक ब्यालेन्स हुन आवश्यक छ । नेपाल टेलिकमको डाटा प्याकेज आफ्नो मोबाइलमा स्टार १४१५ ह्यास डायल गरेर पनि लिन सकिन्छ ।
त्यसैगरी १४१५ मा एसएमएस पठाएर पनि डाटा प्याकेज लिन सकिने कम्पनीले जनाएको छ । तर ग्राहकको सुविधाका लागि अहिले अनलाइन माध्यमबाट समेत डाटा प्याकेज लिन सकिने व्यवस्था गरिएको हो । यसबाट ग्राहकलाई डाटा प्याकेज लिन थप सहज हुने अपेक्षा कम्पनीले लिएको छ । नेपाल टेलिकमले हाल जीएसएममा रेगुलर, नाइट र फेसबुक डाटा प्याकेजको रूपमा विभिन्न अफर उपलब्ध गराउँदै आएको छ ।
प्रतिकृया दिनुहॊस