सामाजिक सुरक्षा योजनाको शुभारम्भमा गर्दै प्रधानमन्त्री ओलीले भने- सरकार श्रमिकको माझमा छ

काठमाडाैं । सरकारले निजी क्षेत्रमा कार्यरत श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरण (पेन्सन) को व्यवस्थासहित योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको  सुरुवात गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरेको सामाजिक सुरक्षा कोषबाट वृद्ध अवस्था, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा सुरु गरेका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भअघि तामझाम किन भन्नेहरुलाई ‘(सरकार) देखिनँ भन्नेहरुलाई देखाउन’ भएको जवाफ दिए ।

‘सरकार हरायो, कहाँ छ? के गर्दैछ?आज म भन्न चाहन्छु, सरकार यहाँ छ, श्रमजीवी जनताको बीचमा छ । उनीहरुको भविष्य सुरक्षित गर्ने योजना निर्माणमा तल्लीन छ । त्यसलाई लागू गर्न कटिबद्ध छ,’ उनले भने, ‘भोली कसैकसैले भन्न पनि सक्छन्- यो तामझाम किन? मेरो जवाफ हुनेछ- ‘देखिन, थाहा पाइन’ भन्नेहरुलाई ‘देखिने गरी, सुनिने गरी’ हाम्रा योजनाको जानकारी गराउन आजको कार्यक्रम आयोजना गरिएको छ ।’

सामाजिक सुरक्षा कोषबाट आजीवन पेन्सनलगायत सुविधा पाउन श्रमिक र तिनको रोजगारदाता कम्पनीले कोषमा जागिर अवधिभर निश्चित रकम योगदान गर्नुपर्नेछ । कोषमा झन्डै १९ अर्ब ३३ करोड रुपैयाँ जम्मा भइसकेको छ । अर्थ मन्त्रालयले सामाजिक सुरक्षाका लागि निजी र सार्वजनिक क्षेत्रका सम्पूर्ण कामदारको मासिक तलबबाट एक प्रतिशत रकम कोषमा जम्मागर्दै आएको छ ।

कोषमा रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकको १० प्रतिशत सञ्चयकोषबापत र ८.३३ प्रतिशत उपदानबापत समेत गरी जम्मा १८.३३ प्रतिशत रकम र श्रमिकले सञ्चयकोषबापत गर्ने १० प्रतिशत योगदान गरी जम्मा २८.३३ प्रतिशत रकमबाट वृद्ध अवस्था सुरक्षा योजना सञ्चालन गरिनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप