आफैं पछि हटेका कृष्णमानको निवेदन- दुष्प्रचारबीच काम गर्ने हौसला र इच्छा रहेन

काठमाडौं । संवैधानिक परिषदबाट प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । अनुमोदन नहुने पक्का भएपछि उनले सो पदका लागि इच्छुक नरहेको भन्दै संसदीय समितिमा निवेदन दिएको संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले बताए ।

पाण्डेले निवेदनमा दुष्प्रचारका बीच निर्वाचन आयुक्त बन्ने हौसला र इच्छा समाप्त भएको उल्लेख गरेका छन् । आज बिहान बोलाइएको संसदीय सुनवाइको बैठक बेलुकालाई सारेर बेलुका बैठक बस्नुअघि यो विवादको ‘सेफल्यान्डिङ’ गर्न नेताहरू जुटेका थिए ।

प्रधानले नाम फिर्ता लिएको जानकारीसहितको निवेदन समितिमा दिएको बताइएको छ । प्रधानविरुद्ध यौन शोषणसँग सम्बन्धित चारवटा उजुरी परेका थिए । उजुरीकर्ताहरूसँग संसदीय समितिले छलफल समेत गरेको छ । उनीहरूको कुरा सुनिसकेपछि प्रधानलाई निर्वाचन आयुक्त बनाउन नहुने ठहरमा समितिका सबैजसो सदस्यहरू पुगेको स्रोतले बताएको छ ।

संवैधानिक परिषदले सिफारिस गरेको व्यक्ति संसदीय समितिबाट ठाडै अस्वीकृत हुँदा त्यसले संवैधानिक परिषदमाथि नै गम्भीर प्रश्न उठ्ने भएकाले शीर्ष नेताहरूले सर्प पनि मर्ने र लट्ठी पनि नभाँचिने उपाय खोजेका हुन् । स्रोतका अनुसार प्रधान स्वयमलाई सो पदबाट पछि हट्न मनाउन पहल गरिएको थियो ।

सोमबार बिहानका लागि सुनुवाइ समितिको बैठक बोलाइएको थियो । सो बैठकले उनको सिफारिससम्बन्धी निर्णय गर्ने तयारी थियो । तर, प्रधानले समितिका सभापति पशुपतिशमशेर राणासँग समन्वय गरी आफूले नाम फिर्ता लिन निवेदन गर्ने तयारी गरेको भन्दै बैठकको समय सारिदिन आग्रह गरेका थिए । त्यसपछि समितिको बैठक सोमबार अपराह्न ५ बजेका लागि सारिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Bida/सार्वजनिक बिदामा नेपालको ‘विश्व रेकर्ड’ !

आज पनि तिहारको बिदा

काठमाडौं । भाइटीका लगाई आइतबार नै तिहार (यमपञ्चक) समापन भए पनि सोमबार सरकारी कार्यालय खुल्ने …

प्रतिकृया दिनुहॊस