डेढ करोडको भेटेरिनरी एम्बुलेन्समा एउटा भैँसी पनि अटेन, आर्थिक अनियमितताको आशंका

काठमाडाैं । देशकै पहिलो भेटेरिनरी एम्बुलेन्स खरिदमा व्यापक अनियमितता भएको खुलेको छ। केन्द्रीय भेटेरिनरी अस्पतालले एक करोड ४३ लाखमा किनेको एम्बुलेन्समा एउटा भैँसी पनि नअटेपछि अनियमितता सार्वजनिक भएको हो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन पौडेलले लेखेका छन्।

पशुसेवा विभागअन्तर्गतको भेटेरिनरी अस्पतालमा गत भदौमा भित्रिएको एम्बुलेन्समा एउटा भैँसी पनि नअटाएपछि कर्मचारीले आपत्ति जनाउँदै आएका छन् । उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएका छन् । एम्बुलेन्स खरिद गर्दा डा. रामकुमार मण्डल अस्पतालका प्रमुख दिए । पाठेघर बटारिएर गाईभैँसीले बच्चा जन्माउन नसके शल्यक्रियाका लागि अस्पताल ल्याउन एम्बुलेन्स खरिद गरिएको हो । यस्तै, प्लास्टिक, किला, काँटी खाएका पशुलाई पनि एम्बुलेन्समा राखेर शल्यक्रियाका लागि भेटेरिनरी अस्पताल ल्याउनुपर्ने हुन्छ।

अस्पतालका पशु चिकित्सकहरू भेटेरिनरी एम्बुलेन्स अत्यावश्यक भए पनि खरिदमा अनियमितता भएको बताउँछन् । अस्पतालमा भदौ महिनामा एम्बुलेन्स आइपुग्यो । तर, भुक्तानी भने त्यसअघि नै भएको खुलेको छ । असार मसान्तभित्रै सबै भुक्तानी भएको अस्पताल प्रमुख थापाले बताए ।

भैँसी नअटेपछि वर्कसपमा लगेर ठोकठाक
अस्पतालले एम्बुलेन्स भन्दै मापदण्डविपरीत आइचर कम्पनीको मिनी ट्रक खरिद गर्‍यो । जब एउटा भैँसी पनि अटाएन, समस्या सुरु भयो । खरिदअघि ९० हर्सपावरको हुनुपर्ने स्पेसिफिकेसन बनाइए पनि एम्बुलेन्स ६० हर्सपावरको मात्रै खरिद गरिएको छ।

दुई नम्बर गेयरमा पनि नतानेपछि एक नम्बरमै चलाउनुपरेको अस्पतालका कर्मचारीहरू बताउँछन् । प्रयोगमा ल्याउनै समस्या भएपछि एम्बुलेन्स वर्कसप पठाएर ठोकठाक गरिएको छ । हालका अस्पताल प्रमुख डा. बलराम थापा आफू नेतृत्वमा आएपछि नै दुईपटक वर्कसपमा पठाएको बताउँछन् ।

‘बिरामी भैँसी अस्पताल ल्याउन सम्भव नै नभएपछि मर्मतका लागि दुईपटक वर्कसप पठायौँ,’ थापाले भने, ‘ग्राउन्ड ह्यान्डलिङ पनि मापदण्डअनुसार नहुँदा जमिनमा धसिने भएकाले माथि उठाउन लगाइयो । हेडलाइट, गियरलगायतमा पनि समस्या छ।’

मान्छेका डाक्टरले पशुको एम्बुलेन्सको स्पेसिफिकेसन बनाउँदा समस्या
मान्छेका डाक्टरले भेटेरिनरी एम्बुलेन्सको स्पेसिफिकेसन बनाएकाले समस्या भएको अस्पताल प्रमुख थापाको आरोप छ।

सो एम्बुलेन्समा भेन्टिलेटर, मोनिटर, अक्सिजन सिलिन्डरलगायत अन्य उपकरण राखिएको र यी सामान एम्बुलेन्सभित्र पशुका लागि फिट गर्न सम्भव नहुने उनी बताउँछन् । ‘मैले हेरेँ, त्यस्ता चिज एम्बुलेन्समा होइन, अस्पतालमा चाहिँ काम आउन सक्छन्,’ उनले भने, ‘भैँसी राम्ररी फर्किनसमेत नसक्ने गाडीमा कसरी भेन्टिलेटर लगाउनु हुन्छ?’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धमला पक्राउ

काठमाडौँ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति गाउँपालिका–२ जयपुर बस्ने २३ …

प्रतिकृया दिनुहॊस