सौर्यको जहाज दुर्घटना : मृतक आफन्तहरुले कहिले पाउँछन् शव ?

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परीक्षण थालिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण शुरु भएको हो ।

अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा.गोपालप्रसाद चौधरीले हिजो चार वटा शव परीक्षण गरेर शवको पहिचानको काम शुरु गरिएको जानकारी दिएका छन् । । उनकाअनुसार एक जनाको शव परीक्षण गर्न चार घण्टा लाग्नेछ । अस्पतालमा जनशक्ति कम भएकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भक्तपुर अस्पताल, धुलिखेल अस्पताल, पोखराबाट समेत डाक्टरहरु बोलाइएको उनले जानकारी दिए ।

मृतकका आफन्तले उपलब्ध गराएको विवरणअनुसार म्याचिङ गरेर सबै शवको पहिचान ७२ घण्टाभित्र गर्ने उनले बताए । शव पहिचानका लागि फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया र डीएनए परीक्षण विधि अपनाइन्छ । उनले फिङ्गर प्रिन्ट, दाँतको विवरण, हुलिया विधिबाट शव पहिचान नभए अन्तिममा डीएनए विधिबाट शव पहिचान गर्ने बताए । डीएनए विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने उनले जानकारी दिएका छन् ।

यसैबीच सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । हिजो (बुधबार) बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।
आयोगको सदस्यमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वार्चन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई, श्री एयरलाइन्सका इञ्जिनियर सञ्जय अधिकारी रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) अधिकृत मुकेश डङ्गोल सदस्य सचिव रहेका छन् ।

आयोगलाई ४५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ । सञ्चारमन्त्री गुरुङकाअनुसार आउँदा दिनमा हवाई दुर्घटना हुन नदिन स्वदेशी तथा विदेशी वायुसेवा सञ्चालन गरिरहेका सञ्चालक कम्पनीले विमानको अनिवार्य प्राविधिक परीक्षण गर्ने र प्राधिकरणले त्यसको सघन अनुगमन गर्ने निर्णय गरेको छ ।

विमान दुर्घटनाको शोकमा आज (बिहीबार) राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि भएको छ । हिजो बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमान विमानस्थल क्षेत्रमा दुर्घटना हुँदा १८ जनाको ज्यान गएको हो । विमानका पाइलट मनिष शाक्य घाइते भएका छन् । उनको सिनामङ्गलमा रहेको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले भेटेन सर्वोत्कृष्ट कर्मचारी, पुरस्कृत भए यी ४० जना (नामसहित)

काठमाडौं । दिवसको अवसरमा सर्वोत्कृष्ट राष्ट्रसेवक कर्मचारी घोषणा गरी २ लाख रुपैयाँ दिने कार्यविधि छ । तर पछिल्लो ८ वर्षदेखि सरकारले सर्वोत्कृष्ट कर्मचारी घोषणा गरेको छैन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार उत्कृष्ट निजामती र निजामती सेवा पुरस्कार पाउनेहरूको नाम समेत टुंगो लागिसकेको छैन ।

प्रतिकृया दिनुहॊस