निर्मलाका बुवाको उपचारकाे जिम्मा मानसिक चिकित्सकलाई

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका बुवा यज्ञराजको उपचारको जिम्मा मानसिक र मेडिसिन चिकित्सकलाई लगाइएको छ । धर्ना दिने क्रममा असामान्य व्यवहार प्रदर्शन गरेको भन्दै उनलाई बेहोस बनाई गाडीबाट राजधानी ल्याइएको थियो ।

लगत्तै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको उनलाई आकस्मिक कक्षका डा.तीर्थमान शाक्य नेतृत्वको टोलीले हेरेको थियो । रिपोर्टहरुले ज्वरो आएको र मुटुको धड्कन बढेको बाहेक अन्य कुनै समस्या नदेखाएपछि यज्ञराजलाई आकस्मिक विभागबाट मानसिक र मेडिसिन विभागलाई जिम्मा लगाउँदै आइसीसीयुको बेड नम्बर तीनमा सारिएको डा.शाक्यले जानकारी दिए ।

यो सँगै यज्ञराजको उपचार मानसिक विभागका प्रमुख डा.सरोज ओझा र हालै प्रधानमन्त्री केपी शर्मा ओलीको उपचारमा संलग्न डा. सन्त दासले सुरु गरेका छन् । करिव तीन महिना अघि छोरी निर्मलाको बलात्कारपछि हत्या भएपछि यज्ञराज र उनकी पत्नी दूर्गादेवी न्यायको लडाईमा होमिएका थिए ।

सरकारले हत्यारा सार्वजनिक गर्न नसकेको भन्दै उनीहरुले यही कार्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्ना दिन थालेपछि यज्ञराज बिरामी हुनुका साथै उनले असामान्य व्यवहार प्रदर्शन गर्न थालेका थिए । उनको जीवन रक्षाका लागि भन्दै बेहोस बनाएर प्रहरी सहायक निरक्षक दीपक धामी नेतृत्वको सुरक्षा टोली, पत्नी दुर्गा, भिनाजु लगायत आफन्तसँगै उनलाई निजी गाडीमा आइतबार साँझ राजधानी ल्याइएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जाल प्रेस काउन्सिलको निगरानीमा, फेसबुक पेजमा ठेगाना खुल्नुपर्ने

काठमाडौं । प्रेस काउन्सिल नेपालले फेसबुक पेजसहित सामाजिक सञ्जालका समाचार सामग्रीमाथि निगरानी थालेको छ । …

प्रतिकृया दिनुहॊस