निर्मलाका बुबालाई एम्बुलेन्समा राखेर काठमाडौं ल्याइँदै

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी  निर्मला पन्तका बुबा यज्ञराज पन्तलाई  स्थलमार्गबाट काठमाडौं ल्याइदै छ । उनलाई शनिबार साँझ नै हवाई मार्गबाट ल्याउन खोजिएपनि विवाद भएपछि स्थलमार्गबाट एम्बुलेन्समा हालेर काठमाडौं ल्याउन लागिएको हो ।

उनलाई शनिबार साँझ बुद्ध एयरको जहाज चढाएर कैलालीको  गेटा बिमानस्थलबाट काठमाडौं ल्याउन लागिएको भएपनि यज्ञराजको अस्वाभाविक व्यवहारका कारण उनलाई जहाज चढ्न दिइएन । त्यसपछि उनीसँग आउने सबै टोली धनगढीमै रोकिएको थियो । राति नै धनगढीस्थित स्थानीय अस्पतालमा यज्ञराजलाई राखिएको परिवारका सदस्यले बताएका छन् ।

यज्ञराजसँगै रहेकी निर्मलाकी आमा दुर्गादेवी पन्तले आइतबार बिहान आफूहरु एम्बुलेन्समा काठमाडौं आउने क्रममा दाङ् आइपुगेको बताएकी थिइन् ।   स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि शनिबार काठमाडौं पठाउनका लागि उनलाई कञ्चनपुरबाट धनगढी लगिएको थियो । काठमाडौं आइपुगेपछि उपचारका लागि उनलाई  शिक्षण अस्पतालमा लगिने सम्भावना रहेको बताइएको छ ।

विगत १५ दिनदेखि जिल्ला प्रशासनको गेट अगाडि धर्नामा बसेका निर्मलाका बुबा यज्ञराजको स्वास्थ्य अवस्थासँगै मानसिक अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि काठमाण्डौ ल्याउन लागिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री