मनसुन सक्रिय हुँदा सुरुभयो विपत्ति : पहिरो र चट्याङमा परी ९ जनाको मृत्यु

काठमाडौं । देशभर मनसुन सक्रिय हुँदा चट्याङ, बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । देशका विभिन्न स्थानमा प्राकृति विपत्तिमा परी १२ घण्टा नबित्दै ९ जनाको मृत्यु भएको छ ।

कास्कीमा मंगलबारबाट परेको भारी वर्षाले गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी गाउँपालिकाकी १३ वर्षीय आयुश्मा रानाभाट र पोखरा महानगरका ३ वर्षीय अनमोल सुनार छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राति करिब पौने २ बजेतिर घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेको बेला आयुश्मा रानाभाटको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीय लालमाया बञ्जारीलाई सकुशल उद्धार गरे पनि नातिनी रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पहिरोमा परी पोखरा-२७ आरूपाटामा ३१ वर्षीय हरि सुनारको घर पुरिँदा ३ वर्षीय छोरा अनमोलको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीय रितु सुनार घाइते भएको प्रहरीले जनाएको छ । उनको थप उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको छ ।

लमजुङको क्व्होंलासोथर गाउँपालिका-३ बगुमस्थित पच्युटोलमा पहिरोमा परेर बेपत्ता भएका चारमध्ये एक जनाको शव भेटिएको छ । पहिरोमा परी बेपत्ता भएकामध्ये ६९ वर्षीय रुद्रमान गुरुङको शव फेला परेको वडासदस्य विनप्रसाद घलेले जानकारी दिए । उनका अनुसार सो पहिरोमा परी बेपत्ता भएका तीन जनाको अवस्था अझै अज्ञात छ । गएराति गएको पहिरोले तीन घर पुरिँदा चारजना बेपत्ता भएका थिए । उक्त पहिरोमा परी एकजना घाइते भएका थिए ।

बेपत्ता भएकाको आज बिहानैदेखि स्थानीय र प्रहरीले खोजी गरिरहेका छन् । लगातारको वषासँगै घर माथिबाट आएको पहिरोले स्थानीय चित्र घले, रुद्रमान गुरुङ र पञ्चकुमारी गुरुङको घर पुरिएको हो ।

पहिरोमा परी ३६ वर्षीया पञ्चकुमारी गुरुङ र उनकी पाँच वर्षीया छोरी नम्रता तथा सात वर्षीया इच्छा गुरुङ अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए ।

दोर्दी गाउँपालिका-९ मा गएराति पहिरोले घर भत्किँदा १६ वर्षीय विकल सुनारको मृत्यु भएको छ । घटनामा १८ वर्षीय मिलन सुनार घाइते भएका छन् । विकल र मिलन दाजुभाइ हुन् ।

पहिरोका कारण लमजुङ-मनाङ जोड्ने बेँसीसहर-चामे सडक अवरुद्ध छ । बेँसीशहर नगरपालिका-६ खरकहरे भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । चिसङ्खुगढी गाउँपालिका-५ थुम्कीमा आज बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

पहिरोमा परी देवकुमारीका श्रीमान् ३९ वर्षीय बाबुराम खत्री र छोरी १८ वर्षीया मेनुका गम्भीर घाइते भएका छन् । प्रहरी चौकी सेर्नाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा दुवैजनाको उद्धार गरिएको हो । उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । पहिरोले एकतले घर र गोठ पुरिएको छ ।

यसैबीच कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बुधबार बिहान चट्याङ लागेर जोशीपुर गाउँपालिका-३ भित्रियाका ३१ वर्षीय जयराम डगौँरा र धनगढी उपमहानगरपालिका-१८ एफ गाउँका ४७ वर्षीय सालिन चौधरीको मृत्यु भएको हो ।

विद्यालय जाँदै गर्दा चट्याङ लागेर घोडाघोडी नगरपालिका-९ बुदेनीका ३ बालिकाहरू गम्भीर घाइते भएका छन् । इलाका प्रहरी सुखडका डीएसपी दीपेन्द्र पालका अनुसार घाइते हुनेमा ९ वर्षीया सरस्वती भुल, ७ वर्षीया पारु कठायत र १० वर्षीया खिमा कठायत रहेका छन् । उनीहरू अध्ययनरत मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेटमा पुग्ने क्रममा चट्याङ लागेको थियो ।

कपिलवस्तुमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । आज बिहान खेतमा काम गर्न जाने क्रममा चट्याङ लागेर उहाँहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए ।

मृत्यु हुनेमा यशोधरा गाउँपालिका-६ भैसाहिया वर्ष २२ को महेश कलवार र बुद्धभूमि नगरपालिका-१० धनकौलीका १७ वर्षको राजु ठाकुर छन् । दुवै जनाको शव मुचुल्का उठाइ पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल लैजाने तयारीमा रहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भारतको मुम्बईमा भिषण वर्षा, विद्यालय र कलेज बन्द

काठमाडौं । भारी वर्षाका कारण भारतको मुम्बई अस्तव्यस्त बनेको छ । भारतको आर्थिक राजधानी भनेर …

प्रतिकृया दिनुहॊस