काठमाडौं । डोटी-डडेलधुरा केआइ सिंह राजमार्गको रडुवा खोलामा बिहीबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । घटनास्थलमा १० जनाको र ८ जनाको उपचारका क्रममा ज्यान गएको डडेलधुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशीले बताए ।
गम्भीर घाइते मध्ये ११ जनालाई रिफर गरिएको छ । धनगढी रिफर गरिएका मध्ये ४ जना गम्भीरलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रिफर गरिएको प्रजिअ जोशीले जानकारी दिए । मृत्यु हुने मध्ये १६ जनाको सनाखत भइसकेको प्रहरी नायब उपरीक्षक डम्बर केसीले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा डडेलधुरा नवदुर्गा–३ का २२ वर्षीय चक्रबहादुर धामी, डडेलधुरा गन्यापधुरा–३ का माया रावत, डोटी दिपायल सिलगढी नगरपालिका–४ का शशी विक, शिखर नगरपालिका–११ का गोपा भाट उनका श्रीमान् शंकर जोरा, शिखर–८ का ४० वर्षीय कैलाश राव, सोही ठाउँका ४० वर्षीय योगेन्द्र रावल, शिखर–१० का १६ वर्षीय रोहित बलायर, कैलाली गोदावरी–१० का २३ वर्षीय पुरन कठायत, डडेलधुरा नवदुर्गा–३ चौपालका २० वर्षीय तिलक खाती, सोही गाउँका १७ वर्षीय टेक धामी रहेका छन् ।
यसैगरी मृत्यु हुनेमा गोदावरी–२ बस्ने २१ वर्षीय केशव कठायत, गोदावरी–१० का २० वर्षीय शारदा कठायत, डोटी शिखर–११ का २२ वर्षीय योगेन्द्र बोहरा, शिखर–८ बस्ने २२ वर्षीया शारदा रावत, धनगढी उपमहानपा ११ का २८ वर्षीय नारायण चौधरी रहेका छन् । प्रहरीको प्राररम्भिक अनुसन्धानमा बसको ब्रेक फेल भएका कारण दुर्घटना भएको देखिएको छ ।
बसमा ४६ जना यात्रु रहेको पनि प्रहरीले जानकारी दिएको छ । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए । उग्रतारा जात्राबाट फर्कँदै गरेको से १ क २९३ नम्बरको स्कुल बस सडक देखि ३ सय मिटर तल खसेको हो ।
डोटीको शिखर नगरपालिका बान्डुग्रीसैनमा रहेको पिसजोन एकेडमीको उक्त बस डडेल्धुराको उग्रतारा मन्दिरमा बिहीबार जात्रामा सहभागी भएर फर्कंदै गरको अवस्थामा दुर्घटना भएको हो । बिद्यालयको बसमा जात्रामा सहभागी हुन आएका स्थानीय रहेका थिए ।
प्रतिकृया दिनुहॊस