‘मोदीबेनी’को पोस्टर सार्वजनिक, यस्तो लुक्समा देखिइन् वर्षा

काठमाडौँ । आगामी श्रावण १८ गते रिलिज हुने चलचित्र ‘मोदीबेनी’ का दुई पोस्टर सार्वजनिक गरिएको छ । यस चलचित्रका प्रमुख कलाकारहरू अमर प्रताप श्रेष्ठ र वर्षा सिवाकोटीलाई फिचर गरिएका दुई छुट्टाछुट्टै पोस्टर सार्वजनिक गरिएको हो ।

पोस्टरमा यसै चलचित्रबाट डेब्यु गरेका अभिनेता श्रेष्ठलाई ‘एङ्ग्री योङ म्यान’ को रूपमा देखाइएको छ । उनी कुनै पहाडी इलाकामा हातमा बाँसको मोटो लट्ठी समाएर रिसाहा भावमा उभिएका छन् ।

उनको गालामा चिथोरिएको दाग छ, हातमा टाँका लगाइएको अवस्थामा छन् भने नाडीमा खतराको सङ्केत भएको कालो ब्रासलेट लगाएका छन् । पोस्टरको विश्लेषण गर्दा उनलाई एक्सन अवतारमा ‘मोदीबेनी’ मा देख्न पाइनेछ । अमरले ओजस थिएटरमा अभिनय प्रशिक्षण लिई केही नाटकमा अभिनय गरेका थिए ।

अभिनेत्री सिवाकोटीलाई पोस्टरमा रहस्यमय अवतारमा देखाइएको छ । उनी पनि कुनै पहाडी इलाकामा उभिएकी छन् । उनको पछाडि उकालो बाटो छ । उनी थोरै बुट्टा भएको सेतो कपडामा छिन् । यस चलचित्रमा वर्षा अमरको जोडीको रूपमा अभिनय गरेको भएता पनि पोस्टर भने अलग अलग सार्वजनिक गरिएको छ । यसबाट कथामा केही रहस्य लुकेको अनुमान लगाउन सकिन्छ ।

‘मोदीबेनी’ का निर्देशक शङ्कर कोइरालाले चलचित्रको कथामा आधारित रहेर पोस्टर तयार पारिएको बताए । उनले यस चलचित्रमा अभिनेता अमर एक्सन प्रधान भूमिकामा रहेको खुलासा गरे । पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित रहेर बनेको यो चलचित्रको कथामा त्यहाँको मात्र कथा नभई नेपालको जुनसुकै स्थानमा पनि त्यस्ता घटनाहरू भइरहेको पाइने उनले बताए । चलचित्रमा बदलाको कथा रहेको बताउँदै निर्देशकले कथाको अन्य ‘क्लु’ दिन भने अस्वीकार गरे ।

सार्वजनिक पोस्टर डिजाइन रोयल भीमसेनले गरेका हुन् । उनले आफूले पोस्टरहरूमा बदला र पीडालाई देखाउनु पर्ने रहेकोमा सोही अनुरूप डिजाइन गरेको बताए । अभिनेता श्रेष्ठको पोस्टरबारे व्याख्या गर्दै उनले कुनै मिसनमा रहेर आक्रामक लडाइँ भावनामा रहेको पात्र रहेको बताए । अभिनेत्री सिवाकोटीलाई राखिएको पोस्टरबारे भीमसेन भन्छन्, ‘रहस्यमय र सन्दिग्ध एवम् भित्री पीडा लुकाइरहेकी महिला जसले बदलाको भावना राखेकी छन्।’

यस चलचित्रमा अमर र वर्षा सहित रेजिना उप्रेती, प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय रहेको छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् ।

यसमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम (माइकल) को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहेको छ । रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गायिका अल्का याज्ञिकको सुन्ने क्षमता गुम्यो

काठमाडौं । भारतकी गायिका अलका याज्ञिककाे सुन्ने क्षमता गुमेको छ । उनीलाई न्युरो रोग लागेको …

प्रतिकृया दिनुहॊस