दिउँसो टिपर चलाउन पाउनुपर्ने मागको मुद्दा उच्च अदालतद्वारा खारेज

काठमाडौँ । उच्च अदालत पाटनले निर्वाध रुपमा दिउँसो पनि टिपर चलाउन पाउनुपर्ने मागदाबीसहित दायर रिट खारेज गरिदिएको छ ।  न्यायाधीश टेकनारायण कुँवरको एकल इजलासले पहिलो सुनुवाइमै रिट खारेज गरिदिएको हो ।

ट्रक तथा टिपर व्यवसायीका तर्फबाट विरुण कन्स्ट्रक्सनले मंसिर ४ गते रिट दायर गरेको थियो । अदालतले व्यक्तिको बाँच्न पाउने अधिकारभन्दा पेशा व्यवसायको अधिकार ठूलो नभएको भन्दै रिट खारेज गरिदिएको हो । पेशा व्यवसाय संवैधानिक अधिकार भए पनि बाँच्न पाउने नागरिकको अधिकार सबैभन्दा महत्त्वपूर्ण भएको अदालतको ठहर छ । अदालतले विपक्षीसँग जवाफ समेत माग्नु नपर्ने ठहर गर्दै रिट खारेज गरेको हो ।

अदालतले व्यवसायको अनुमति दिने र नियमन गर्न पाउने अधिकार सरकारसँग हुने भन्दै रिट खारेज गरेको उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले बताए । दाहालले भने ‘पेशा व्यवसाय गर्न पाउने संवैधानिक हक हनन् गर्नेगरि सरकारले टिपर सञ्चालनको समय तोकेको भन्दै रिट दर्ता भएको थियो। पहिलो सुनुवाइमै खारेज भएको छ । व्यवसाय नियमनको अधिकार सरकारसँग हुने भएकाले रिट खारेज भएको हो ।’

अदालतले टिपर सञ्चालनका लागि सरकारले तोकेको समयभित्र पालना गर्नु व्यवसायीको कर्तव्य भएको समेत बताएको छ । जुनसुकै समयमा पनि टिपर चलाउन पाउनुपर्ने मागसहित टिपर व्यवसायी संघ दोलखाको तर्फबाट विरुण कन्स्ट्रक्सनले रिट दायर गरेको थियो । सरकारले उपत्यकामा दिउँसोका समयमा टिपर चलाउँदा दुर्घटना बढेको भन्दै सञ्चालनमा समयसीमा तोकेको थियो ।

अहिले बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन अनुमति दिएको छ । बुधबार साँझमात्र भक्तपुरमा टिपरले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री