विल्डिङ एक्स्पोबाट थाहा पाउनुस् घर निर्माणको सबै जानकारी

काठमाडौं । विहिबारदेखि राजधानीको भृकुटीमण्डपमा ‘बिल्डिङ एन्ड कन्स्ट्रक्शन एक्स्पो’- २०७५ सुरु हुँदैछ । सुरक्षित र दिगो आवास निर्माणका लागि प्राविधिक रूपान्तरणको मूख्य उद्देश्यसहित एक्स्पो आयोजना हुन लागेको हो ।

२०७२ सालको विनाशकारी भूकम्पपछि सर्वसाधरणलाई सुरक्षित घर निर्माणबारे जानकारी दिने उद्देश्यले गत वर्षबाट यो एक्स्पो हुँदै आएको छ । यो वर्ष युथ कम्युनिटी फर नेपलिज कन्ट्र्याक्टर्सको मूख्य आयोजना तथा विभिन्न चारवटा संस्थाहरू नेपाल इन्जिनियर्स एसोसिएशन, सोसाइटी अफ नेपलिज आर्किटेक्ट, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्टरल एन्ड इन्जिनीयरिङ फर्म र ब्रान्डवर्थ प्रालिको सह–आयोजनामा दोस्रो संस्करणको एक्स्पो हुन लागेको हो ।

चारदिने एक्स्पोमा निर्माण क्षेत्रमा भित्रिएका नवीनतम प्रविधिहरू र निर्माण सामग्रीलाई महत्त्वका साथ प्रदर्शन गरिने एक्स्पोका सह–आयोजक कम्पनी ब्रान्डवर्थ प्रालिका प्रमुख कार्यकारी अधिकृत मोहन गजुरेलले बताए । घर निर्माण गर्न चाहने र निर्माण गरिरहेका व्यक्तिहरूलाई लक्षित गरी एक्स्पो आयोजना गर्न लागिएको गजुरेलले बताए । एक्स्पो अवधिमा सामग्रीहरूको प्रदर्शनीका साथै भृकुटीमण्डपमै सुरक्षित घर निर्माण र विभिन्न निर्माण सामग्रीका बारेमा सेमिनार पनि आयोजना गरिने उनले जानकारी दिए ।

सम्बन्धित विषयका विज्ञहरूले सेमिनारमा कार्यपत्र प्रस्तुत गर्नेछन् भने सर्वसाधरणले आवास तथा निर्माणसम्बन्धी कुनै पनि जिज्ञासा भए सम्बन्धित विज्ञलाई प्रश्न गर्न सक्ने आयोजकले जानकारी दिएको छ । एक्स्पोमा ६० भन्दा बढी स्टल रहको गजुरेलले बताए । एक्स्पोमा ल्याण्ड एण्ड हाउजिङ, सिमेन्ट उत्पादक, पेन्ट्स, स्टील, इट्टा तथा मार्बल, इन्टेरियर डिजाइन, बैंक तथा वित्तीय संस्था, फर्निचर,विद्युतीय उपकरण, पाइप तथा फिटिङ्स कम्पनी सहभागी छन्। यो वर्ष दुई लाखभन्दा बढीले एक्स्पो अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

गतवर्ष आयोजना गरिएको एक्स्पोमा धैरै अवलोकनकर्ताको जिज्ञासा भूकम्प प्रतिरोधी घर कसरी निर्माण गर्न सकिन्छ भन्ने रहेकाले यसपटक घर निर्माण गर्न चाहने उपभोक्तालाई उपयोगी हुने गजुरेलले बताए । एक्स्पो हरेक दिन बिहान १० देखि साँझ ६ बजेसम्म अवलोकन गर्न सकिने गजुरेलले बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप