काठमाडौं । पश्चिम तराईका जिल्लामा गर्मीले रेकर्ड ब्रेक गरिरहेको छ । बिहीबार बाँकेको नेपालगन्जको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । यो विगत केही वर्ष यताकै उच्च तापक्रम हो ।
जल तथा मौसम विभाग फिल्ड कार्यालय राँझा एअरपोर्टका नायब मौसम विज्ञान सहायक कुमार रानाका अनुसार बिहीबार नेपालगन्जको अधिकतम तापक्रम ४४ दशमलव २ सेल्सियस मापन भएको हो । उनका अनुसार बिहीबार साँझ ५ः४५ बजे लिइएको रिडिङमा उक्त तापक्रम मापन भएको हो । दिउँसो २ः४५ बजे लिइएको रिडिङमा नेपालगन्जको अधिकतम तापक्रम ४३ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो ।
नायब मौसम विज्ञान सहायक रानाका अनुसार बुधबार नेपालगन्जको अधिकतम तापक्रम ४२ दशमलव ८ डिग्री सेल्सियस र मङ्गलबारको अधिकतम तापक्रम ४१ दशमलव ७ डिग्री सेल्सियस मापन भएको थियो । दैनिकरुपमा नेपालगन्जको अधिकतम तापक्रम बढ्दो क्रममा रहेको छ । यस अघि २०१९ मे २० तारिखका दिन नेपालगन्जको अधिकतम तापक्रम ४३ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो भने २०५२ सालमा ४५ डिग्री मापन भएको थियो ।
अत्यधिक गर्मी र दिउँसोमा चल्ने तातो हावाका कारण नेपालगन्ज र आसपासका स्थानीय बासिन्दाको दैनिक जीवन कष्टकर बन्दै गएको छ । गर्मीका कारण दैनिक मजदुरी गरेर हातमुख जोड्ने वर्गलाई बढी प्रभाव पारेको छ भने सर्वसाधारणहरू बिरामी हुने क्रम पनि बढ्दै गएको छ ।
अत्यधिक गर्मीका कारण नेपालगन्जलगायत बाँकेका अन्य स्थानीय तहले विद्यालयहरू बन्द गरेका छन् । गर्मी तथा तातो हावाको लहरबाट बच्नका लागि चिकित्सकहरूले जरुरी काम बाहेक अन्य काममा घरबाट बाहिर ननिस्कने, निस्किनै परेमा शरीर पूरै छोपिने कपडा लगाउने तथा पानी तथा तरलजन्य पदार्थको अत्यधिक सेवन गर्नका लागि सुझाव दिएका छन् ।
उता कैलालीको टीकापुरमा तापक्रम मापन गर्न थालेयताको ४८ वर्षमा सबैभन्दा उच्च ४५.२ डिग्री सेल्सियस पुगेको छ । बुधबार देशभरमै सबैभन्दा बढी ४३.५ डिग्री मापन भएको टीकापुरमा एकैदिन १.६ ले उकालो लागेर सोही स्टेसनका लागि अहिलेसम्मको रेकर्ड ब्रेक भएको हो ।
टीकापुरमा २४ मार्च १९७६ देखि तापक्रमको रेकर्ड राख्न थालेयता सबैभन्दा बढी १३ र १४ जुन ०१२ मा ४५ डिग्री पुगेको थियो, जुन टीकापुरका लागि रेकर्ड ब्रेक तापक्रम थियो । तर, बिहीबार उक्त रेकर्ड पनि ब्रेक भएको हो । नेपालमा सबैभन्दा धेरै अधिकतम तापक्रम १६ जुन १९९५ मा धनगढीमा ४६.४ डिग्री मापन भएको थियो ।
जल तथा मौसम विज्ञान विभागको भैरहवा कार्यालयका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार भारतको राजस्थान, दिल्ली क्षेत्रको तातो हावा धनगढी, टीकापुर, नेपालगन्ज क्षेत्रमा पुगेको छ, यसले तापक्रम बढाउन अझ मद्दत गरेको हो । ‘पूर्वमा बादल र केही पानी पर्दा हल्का राहत भएको छ, तर रुपन्देही, कपिलवस्तुदेखि पश्चिम तराईमा तातो हावा चलिरहेको छ, बादल पनि छैन,’ पौडेलले भने ।
वर्षा नहुँदा उकालो लागेको पश्चिम तराईको तापक्रम तत्काल नघट्ने देखिएको छ । ‘तापक्रम घट्न पानी पर्नुपर्ने हुन्छ, त्यस क्षेत्रमा वर्षाको सम्भावना पनि छैन,’ उनले भने । मौसमविद्हरूका अनुसार आइतबार कैलाली, कञ्चनपुर क्षेत्रमा बादल लाग्न सक्छ । तर, वर्षा गराइहाल्ने प्रणाली भित्रिएको छैन ।




