एक महिनाकी सुत्केरीलाई बच्चासहित घरनिकाला

दाङ । नारायणपुरकी एक सुत्केरी महिलालाई परिवारले घरबाट निकालेको छ । एक महिनाकी सुत्केरी घोराही उपमहानगरपालिका १० नारायणपुर झारबैराकी २३ वर्षीय दुर्गा वलीलाई उनका श्रीमान् हेमराज वली र परिवारले घरनिकाला गरेको हो ।

असोज ३० गते सुत्केरी भएकी अाफूलाई श्रीमान् हेमराज वलीले अर्कैको बच्चा जन्माएको भन्दै घरबाट निकालेको  बताइन् । हेमराजले बिहे भएको आठ महिनादेखि अाफूलार्इ यातना दिन सुरु गरेको उनको भनाइ छ । ‘तीन वर्ष पहिले मागेर बिहे भएको हो । बिहे भएको ८ महिनाबाटै पिट्न सुरु गर्नुभयो’, दुर्गाले भनिन्, ‘गर्भवती भएको समयमा पनि यातना दिने गरिरहनु हुन्थ्यो ।’

एक महिनाको सुत्केरीलाई घर निकाला गरेर परिवारले सम्बन्धविच्छेदका लागि जिल्ला अदालतमा मुद्दा दायर गरेको पीडित दुर्गाले बताइन् । अहिले उनलाई रोल्पा त्रिवेणी गाउँपालिका जुगारमा रहेका माइती पक्षले सहयोग गर्दै आएको छ । ‘कहिले कसको कहिले कसको घरमा बसेर न्यायका लागि हार गुहार गर्दै आएका छौँ, तर हाम्रो कुरा सुनिदिने कोही भएन’, पीडित दुर्गाकी आमा गोमती केसीले गुनासो गरिन् ।  न्याय माग्दै दुर्गाले केही दिनअघि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन् ।

तर प्रहरीले हेमराजलाई सामान्य सम्झाउनुबाहेक केही नगरेको उनले बताइन् । जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दामा केही गर्न नमिल्ने भन्दै प्रहरीले रित्तो हात फकाईदिएको उनको गुनासो छ । श्रीमान् हेमराजलाई कारबाहीको माग गर्दै आफूलाई सुरक्षित रूपमा बस्न पाउने वातावरण मिलाइदिन जिल्लास्थित सम्पूर्ण मानवअधिकार, महिला अधिकारकर्मी, सामाजिक संघसंस्था, प्रहरी, प्रशासन र पत्रकारहरुलाई आग्रह गरेकी छिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री