रविलाई कांग्रेसले दियो चुनौती, प्रचण्डसँग यस्तो आग्रह

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएको छ । कांग्रेसले आइतबार संसदमा सम्बोधनका क्रममा महामन्त्री गगन थापासहितका नेताहरूमाथि लगाएको आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएको हो ।

कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई आरोप प्रमाणित गरेर देखाउन चुनौती दिँदै त्यसका लागि सरकारले निष्पक्ष छानबिन वा अनुसन्धान जे गर्ने भएपनि पार्टी तयार रहेको बैठकपछि प्रमुख सचेतक रमेश लेखकले बताए । लामिछानेले प्रतिनिधिसभामा उठाएका विषयहरु असत्य, असभ्य, भ्रामक, र हिंस्रक भएको बैठकले ठहर गरेको उनको भनाई छ ।

गृहमन्त्रीबाट अरूलाई आरोप लगाएर आफू अभियोगबाट भाग्ने काम भएको उनले बताए । ‘उपप्रधानमन्त्री र गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेकाले अरूलाई प्रश्न उठाउने होइन । आफ्नोबारे जवाफ दिने हो । अरूलाई आरोप लगाएर उहाँले आफू अभियोगबाट भाग्ने काम गर्नुभएको छ,’ उनले अगाडि भने, ‘उहाँको अभिव्यक्तिको कांग्रेसले धोर निन्दा र भर्त्सना गरेको छ । यसका बारेमा प्रधानमन्त्रीको पनिगम्भीर ध्यानाकर्षण गराएका छौँ ।’

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत लिन सदनमा आउनुअघि सहकारीबारे संसदीय छानबिन समिति गठन गर्न आग्रह गरेको छ । ‘संसदीय समिति बनाउनुस्, रवि लामिछानेमाथि अनुसन्धानको सुनिश्चितता गर्नुस्, समिति बनाएर सदनमा आउनुस्,’ प्रमुख सचेतक लेखकले भने, ‘विश्वासको मत मात्रै होइन, सरकारका जति पनि कार्यसूची छन् राति १२, १ बजेसम्म सदन चलाउनुस्, हामी तयार छौं ।’

प्रधानमन्त्रीले प्रतिनिधि सभाको सोमबारको बैठकमा विश्वास मत लिने तयारी गरेका छन् । संसदीय समिति गठन नगरे कांग्रेसले सदनमा अवरोध गर्ने संकेत गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

mausam/लम्बियो मनसुन, के दसैँसम्मै पानी पर्नसक्छ ?

कस्तो रहला आगामी तीन दिनको मौसम ?

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर …

प्रतिकृया दिनुहॊस