काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक भएको बताएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस का नेताहरुबीचको बैठकमा प्रधानमन्त्री सहकारी प्रकरणको अनुसन्धान समिति बनाउन सकारात्मक भएका हुन् ।
छलफलपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीसँग नेपाली काँग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाएर छानबिन हुनुपर्ने माग राखेको र प्रधानमन्त्री सो विषयमा सकारात्मक भएको बताए । कांग्रेसले सोमवार बस्ने संसदीय दलको बैठकबाट थप निर्णय गर्ने उनको भनाई छ ।
कांग्रेसको मागमा सत्तापक्ष सकारात्मक नदेखिएपछि संसद्को गतिरोध अन्त्य हुन सकेको छैन । आगामी जेठ १ गते आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्डले सक्रियता देखाएका हुन् ।




